सरकारी कर्मचारी र जनप्रतिनिधिहरुकै नेतृत्वमा कालिकोटको खाडामा गत साता भएको रक्सी पार्टीका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट फैलिएको आगोले उग्र रुप लिंदा खाडा गाउँ ध्वस्त भएको थियो । रक्सी र मासु सहितको पार्टी गर्ने कर्मचारी र जनप्रतिनिधि तथा आगलागी घटनासंग जोडिएका समुहको पहिचान भैसकेको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानाकारी दिएका छन् । डिएसपी शर्माले दोषीलाई केही दिनभित्र पक्राउ गरी सार्वजनिक गरिने बताएका छन् ।
गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडाध्यक्ष मानबहादुर भण्डारीले गलत सूचना फैलाएको पुष्टि भैसकेको प्रहरीको भनाई छ । तर आगलागीको गलत बिबरण सहितको सूचना दिएको भन्दै इलाका प्रहरी चौकी थिर्पुमा कार्यरत प्रहरी हवलदार यज्ञबहादुर खड्कालाई निलम्वन गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी शर्माले आगलागीको गलत बिबरण टिपाएको भन्दै प्रहरी हवलदार खड्कालाई निलम्बन गरेको बताए ।
पुस ८ गते राति करिब १ बजेर ४० मिनेटमा खाडामा आग्लागी भएको थियो । प्रहरीले २ बजेतिर जानकारी पायो । जानकारी पाउनासाथ थिर्पुबाट प्रहरी हवलदार खड्का सहितको प्रहरीको टोली घटना स्थल तिर गएको थियो ।
हवलदार खड्काको टोली बिहान साढे ६ बजेमात्र पुगेको थियो । जिल्लाको सुरक्षा निकायहरुको बिबरण पठाउने पहिलो व्यक्ति नै खड्का रहेको बुझिएको छ ।