दुई थुनुवा भागेपछि इप्रका रानीका इन्चार्ज प्रनि निरौलासहित पांचमाथि विभागीय कारवाही, तीनबिरुद्ध मुद्दा

दुई थुनुवा भागेपछि इप्रका रानीका इन्चार्ज प्रनि निरौलासहित पांचमाथि विभागीय कारवाही, तीनबिरुद्ध मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ पुष २०७५
  • 7.1K
    Shares

प्रहरी हिरासतबाट दुई जना थुनुवा भागेको घटनाामा संलग्न रहेको आशंकामा प्रहरीले इलाका प्रहरी कार्यालय रानी विराटनगरका तात्कालीन इन्चार्ज प्रहरी निरीक्षक सन्तोष निरौलासहित पाँच जनालाई विभागीय कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार विभागीय कारवाहीमा पर्नेहरुमा इलाका प्रहरी कार्यालय रानी विराटनगरका तात्कालीन इन्चार्ज प्रहरी निरीक्षक सन्तोष निरौला, प्रहरी नायव निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङ रहेका छन् । ड्युटीमा रहेका अन्य तीनजनालाई भने मुद्दा दायर गरिएको छ ।

थुनुवा फरार भएपछि तत्कालिन समयमा ड्युटीमा रहेका तीन जनालाई निलम्बन गरी कारागार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी हवल्दार जिरालाल रौनिया, प्रहरी जवान सुरेश राजवंशी र जगन्नाथ बास्केलाई कारागार ऐन अन्तर्गत ‘थुनुवा भगाएको मुद्दा’ दायर गरिएको हो । सो मुद्दामा तीनै जना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।

गत असोज १ गते विराटनगर १७ का १७ बर्षका महम्मद अस्फाक हत्या आरोपमा पक्राउ परेका २० बर्षका महम्मद सद्दिम हुसेन र २१ बर्षका महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेण्टिलेसन फोडेर फरार भएका थिए । फरार भएकाहरु अझै भेटिएका छैनन् ।

गत असोज दोस्रो साता पक्राउ परेका हत्या आरोपी हुसेन र आलमविरुद्ध दायर गरेको मुद्दामा कात्तिक ८ गते बिहीबार जिल्ला अदालतको आदेश आउने दिन थियो । ८ गते पक्राउ गरेको २४ दिन भएको थियो । बिहीबार मुद्दा हेर्दा हेर्दैमा रहेपछि अदालतले आरोपीलाई प्रहरी हिरासतमा नै पठाएको थियो । शुक्रबार बिहान अदालत उपस्थित हुनुपर्ने हत्या आरोपी राति नै फरार भएका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन डिएसपी निशान थापाको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो भने प्रदेश प्रहरी कार्यालयले छुट्टै छानबिन समिति गठन गरेको थियो । दुबै छानबिन समितिको प्रतिवेदनपछि ८ जनालाई कारवाही गरिएको हो । तर प्रतिवेदन भने गुपचुप राखिएको छ । प्रतिवेदनले ड्युटीमा रहेका प्रहरीको चरम लापरवाही देखाएको बताइएको छ । घटना भएको दिन प्रहरी निरीक्षक निरौला विदामा थिए ।

प्रतिक्रिया