सिराहाको गोलबजारबाट प्रहरीले अत्याधुनिक हतियार सर्ट मेशिन गन (एसएमजी) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको धनगढीमाई नगरपालिका–११ बस्ने चतुरनारायण चौधरी रहेको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरिबहादुर पालले जानकारी दिए ।
दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीको साथबाट एकथान एसएमजी, ५ राउण्ड गोली र दुईओटा म्यागेजिन बरामद गरेको छ ।
केहि दिनअघि सिराहामा प्रेशरकुकर बम राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न चौधरी जयकृष्ण गोईतको भुमिगत समुहबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘चतुरनारायण चौधरीले पछिल्लो समय गोईतको नामबाट चन्दा संकलन लगायतका कार्य गर्दैै आएको खुलेको छ’ डिआईजी पालले भने, ‘चौधरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिराहाले थप अनुसन्धान गरिरहेको छ ।’