सरकारी वार्ता टोली बिघटन भए लगत्तै सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध दमनमा उत्रने संकेत देखिएको छ । सरकारद्वारा गठित सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित उच्च स्तरीय वार्ता टोलीले बिहिबार आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा नेकपा वार्तामा आउन नचाहेको निष्कर्ष निकालेको थियो ।
सरकारी वार्ता टोली बिघटन भए लगत्तै नेकपाका नेता तथा कार्यकर्ताका बिरुद्ध देशभर ब्युँताउन शुरु गरिएको छ । सोही क्रमामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशअनुसार भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले प्रकाण्डको कालिकोट माल्कोटमा रहेको घरनजिकै एक विद्यालयमा बिहीबार पक्राउ पूर्जी टाँसेको हो।
पार्टी प्रवक्ता प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ। भोजपुर जिल्ला अदालतले मंसिर ८ गते र संखुवासभा जिल्ला अदालतले कातिक १६ गते पक्राउ पूर्जी जारी गरेको छ।
यसअघि प्रकाण्ड चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरी झण्डै ५० दिनपछि छुटेका थिए।