प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकमा राखेको राजनीतिक प्रस्ताव अस्वीकृत भएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले दिएको जवाफमा नेताहरुले असन्तुष्टि जनाए लगत्तै अध्यक्षद्वयको तर्फबाट प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्तुत गरेको ‘राजनीतिक प्रस्ताव’ पास गर्ने प्रस्ताव अस्वीकृत भएको हो ।
राजनीतिक प्रतिवेदनमाथि नेताहरुले उठाएको प्रश्नको जवाफ दिंदै बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस कुनै गल्ती नगरेको भन्दै आत्मालोचना गर्न अस्वीकार गरेका थिए ।
अध्यक्ष केपी ओलीले काठमाडौंमा भएको एसिया प्यासिफिक समिटमा कमीकमजोरी भएको स्वीकार्दै राम्रै सन्देश जाने सोचेर सरकारले समिटमा सहयोग गर्दा नराम्रो सन्देश प्रवाह भएको र केही कमीकमजोरी भएको बताएका थिए । तर यो गल्तीको लिखत भने नेकपाले नराख्ने भएको छ ।
अध्यक्ष ओलीको २ घन्टा १० मिनेट सम्बोधनपछी बामदेव गौतमले नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने, नभए आफूले फरक मत राख्ने बताए । लगतै भीम रावल र घनश्याम भुसालले पनि नेतृत्वले कमजोरी स्वीकार गर्नुपर्ने र राजनीतिक प्रतिवेदनमा रहेका अस्पष्टता हटाउनुपर्ने बताए । अरु नेताहरुले पनि हात उठाएपछि अर्का अध्यक्ष प्रचण्डले हस्तक्षाेप गर्दै बैठक टुंग्याउनु परेको थियो ।
बैठकको सुरुमा नै भीम रावलले बिमिस्टेक सैन्य अभ्यासबारे सरकारको जवाफ मागेका । सैन्य अभ्यासमा भाग लिन्छु भनेर भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिल्ली र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा बोलेको भिडियो आफूसँग रहेको भन्दै उनले भने, ‘सुन्ने हेर्ने हो भने म भिडियो देखाइदिन्छु ।’ उनले यस बारेमा प्रष्ट जवाफ दिनुपर्ने माग गरे ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव सिधै पास गर्न प्रस्ताव गरेपनि प्रचण्डले प्रतिवेदन परिमार्जन गरेर पारित गर्नुपर्ने धारणा राखे । राजनीतिक प्रतिवेदन र सांगठनिक एकताबारे सुझाव दिन कार्यदल बनाउने र २/३ दिनमा स्थायी कमिटीको बैठक राखेर अन्तिम रुप दिने प्रचण्डको प्रस्ताव थियो । नेताहरुले यसलाई सकारात्मक मानेका थिए तर, अर्का अध्यक्ष ओलीले एकैपटक प्रस्ताव पास गर्न प्रस्ताव गर्दा दुई अध्यक्षबीच नै फरक मत देखिएको नेताहरुले बताए ।