प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोध गर्दै प्रदर्शनमा उत्रिएका वीरगञ्जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा एक प्रहरी घाइते र ४ विद्यार्थी घाइते भएका छन्। घाइते हुने प्रहरीमा मुकेश यादव र घाइते विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ रहेको वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घाइतेहरुको हाल उपचार भइरहेको बताइएको छ।
माईस्थानका विद्यार्थीहरु विद्यालय परिसरबाट वीरगञ्ज महानगरतर्फ जाने क्रममा हरिखेतन क्याम्पसअगाडि र वीरगञ्ज महानगरअगाडि झडप भएको हो। विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि हाल विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका छन्। केही समयअघि प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको थियो।