सुत्केरी लिएर जाँदै गरेको जिप दुर्घटना, चालकसहित पांच जनाको मृत्यु

सुत्केरी लिएर जाँदै गरेको जिप दुर्घटना, चालकसहित पांच जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ मंसिर २०७५
  • 12.1K
    Shares

पाल्पाको तानसेनबाट सुत्केरी लिएर माथागढी गाउँपालिकाको बहादुरपुर जाँदै गरेको जिप पूर्वखोला गाउँपालिका – २ जल्पाको आर्गीडाँडा भीरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवत बहादुर जिसी र ४१ वर्षकी भुमीकुमारी दर्मामी रहेका छन् । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल स्रोतले जनाएको छ ।

रातीको समयमा साँघुरो र अप्ठेरो बाटोमा खरायोलाई पिछा गर्नेक्रममा भित्तामा ठोकिएर दुर्घटना भएको घाइतेलाई उदृत गर्दै स्थानीय एवम वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए  । जिप करिब ३ सय मिटर तल खोचमा खसेको छ । तानसेनबाट जल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप राति ८ बजेतिर दुर्घटनामा परेको थियो । घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार