अन्यौलग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन : दोबाटोमा नेकपा – घनश्याम भुसाल

अन्यौलग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन : दोबाटोमा नेकपा – घनश्याम भुसाल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०७५
  • 23.3K
    Shares

घनश्याम भुसाल

मैले केही वर्ष पहिले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?’ शीर्षकमा एउटा लेख लेखेको थिएँ । त्यो तत्कालीन नेकपा माओवादीमा गहिरिँदै गरेका सङ्कटका सैद्धान्तिक र साङ्गठनिक कारण एवं सम्भाव्य परिणामबारे थियो ।

गत वैशाखसम्म लोकप्रियताको शिखर चढ्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) किन ओरालो लाग्दै गयो भन्ने चर्चा अहिलेको मुख्य राजनीतिक–बौद्धिक विमर्श भएको छ । यो लेख आजको नेकपाका सन्दर्भमा तर पाँच वर्ष पहिलेको लेखकै अर्को कडी हो ।

दोबाटोमा नेकपा
प्राचीन युनानी मिथकका दुई पात्रबाट छलफल सुरु गरौं । एउटा पात्र नार्सिसस् हो, जसको जिन्दगीका अपार सम्भावना छन्, तर एउटा श्रापले गर्दा उसले आफ्नो अनुहारको प्रतिविम्ब हेर्नु हँुदैन । कुनै दिन जङ्गलमा पानी खोज्दै जाँदा उसले पोखरीमा आफ्नो अनुहार देख्छ । उसको सुन्दरता यति आकर्षक थियो कि त्यो दृश्यबाट उसले आफूलाई हटाउनै सकेन, हेरिरह्यो, हेरिरह्यो र मर्‍यो । अर्को पात्र फिनिक्स चरो हो । यो चरोको आयु ५/७ सय वर्ष छ । तर जब उसको आयु पुग्छ, आगोमा जलेर खरानी हुन्छ र त्यही खरानीबाट त्यो ब्युँतिन्छ । र फेरि जीवनको अर्को चक्र पहिलेझैं सुरु गर्छ । नार्सिसस्ले आत्मरतिको घेराबन्दीमा कसरी व्यक्ति र संस्थाहरू मर्छन् भन्ने बताउँछ भने फिनिक्सले हरेक नयाँ युगमा आफूलाई अनुकूलन गर्दै कसरी व्यक्ति र संस्था बाँच्न सक्छन् भन्ने बताउँछ । नेकपाले अहिले पाएको राजनीतिक सफलता इतिहासमा कुनै पनि कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा पाएको भन्दा ठूलो छ । यो सफलताले नेकपा ‘आफ्नो रूप हेरी–हेरी, आफैं हुन्छु दङ्ग’ हुँदै नार्सिसस्जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैं अगाडि बढ्छ ? नेकपाका अगाडि यी दुइटै सम्भावना एकसाथ खडा छन् ।

नार्सिसस्को बाटो
जबसम्म लम्ब्याइनुको ‘खास’ उद्देश्य पूरा हुँदैन, तबसम्म पार्टीको एकता प्रक्रिया लम्बिँदै जानेछ, हिजो सङ्गठित रहेका लाखौं सदस्य फाजिलमा परेका कर्मचारीजस्तो काम नपाएर टोलाइरहनेछन् ।

स्थायी कमिटी केही होइन, संसदीय दल केही होइन, खास व्यक्तिमात्रै सबैथोक हुन्, तिनको स्वार्थ नै सबै थोक हो भन्ने कुरा स्थापित हुँदै जाँदा तलका कमिटी र जनप्रतिनिधिले आफ्नो हैसियत के रहेछ भन्ने थाहा पाउँदै जानेछन् ।

सरकार सरकारजस्तो हुने छैन, प्रदेश र स्थानीय सरकारहरू रामभरोसे चल्नेछन्, बिग्रे–भत्केको जिम्मा कसैले लिने छैन, सरकारवाला र पार्टीवालाले दोषादोष गर्नेछन्,आफ्ना नालायकी ढाक्न कर्मचारीले ‘क्रान्ति रोकेको’ कथ्य–रचना हुँदै जानेछ, भ्रष्टाचार अझ बढ्दै जानेछ, अन्तरविरोधका अनगिन्ती स्वरूपहरू देखिँदै जानेछन्, त्यसलाई देखाएर अनुशासनका एकपछि अर्को कारबाही गरिनेछ, स्पार्टाकसको पल्टनलाई झुन्डयाएर बाँचेका दासहरूलाई तर्साएको इतिहास नेकपामा दोहोर्‍याइनेछ ।

गुटबन्दीले नश्लको रूप लिनेछ, नश्लीय विधान बन्नेछ, त्यसमा सत्ताधारी गुटका लागि कर्तव्यको महल हुने छैन, सत्ताको बलेनीभन्दा बाहिरका लागि अधिकारको महल हुने छैन, अर्को गुटविरुद्ध जति निर्मम र आततायी हुनसक्नेहरूको बढुवा हुँदै जानेछ, हिजोका एमाले–माओवादीका बीच र माओवादीहरू र एमालेहरूका गुटबीच अन्तरविरोध र सहकार्यका नयाँ–नयाँ रूप देखिँदै जानेछन् । यसरी पार्टी र सरकार मुर्झाउँदै जानेछन् ।

नेकपा अकर्मण्य बन्दै जाँदा हाम्रा भूअर्थराजनीतिक मामिला उठ्न थाल्नेछन्, संविधान संशोधनको मुद्दा पुनर्जागृत हुनेछ, मधेसी पार्टीहरूले आफ्ना एजेन्डा सम्झिनेछन् र बाटोमा धुनी बाल्न थाल्नेछन् । ‘दलाल पुुँजीवादी राज्यसत्ता’मा देखिने सङ्कटलाई कमरेड विप्लवको पार्टीले ‘क्रान्तिकारी अवसर’ भनेर सैद्धान्तीकरण गर्नेछ र अगुल्टो बोकेर गाउँ–बस्ती चहार्नेछ ।

एकातिर सङ्घीयताको मर्मको नारा उचालिनेछ भने अर्कोतिर सङ्घीयताले राष्ट्रियता खतरामा परेको शोक–गीत गाउन थालिनेछ । सीके राउतहरूलाई ‘आस्थाका योद्धा’ भनेर लेख्न थालिनेछ, जगेडामा राखिएका विशिष्ठ व्यक्तिहरू आफूलाई लि क्वान यु, महाथिर, फ्रान्स्वाँ म्याक्रोनको नेपाली अवतार भनेर प्रचार गर्न थाल्नेछन् । केही गर्ने आफ्नै ल्याकत हराएको नेपाली काङ्ग्रेसले लोकतन्त्र खतरामा पर्दै गएको देख्नेछ र डिलमा बसेर हारगुहार गर्नेछ । यसरी नेकपाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न प्रयास गरिनेछ ।

नेपाली सेनालाई ‘चुप नलाग्न’ वीररसका कविता लेखिनेछ । विभिन्न तिथि पारेर पूर्वराजाले वक्तव्य प्रसारित गर्नेछन् । नागरिक अवज्ञाका आह्वान हुनेछन् । आजका विश्व राजनीतिक प्रवाहमा आएको पपुलिस्ट दक्षिणपन्थले हामीलाई अझ दबाबमा राख्नेछ । हाम्रो सामाजिक–सांस्कृतिक–क्षेत्रीय बनोटको विविधतामा गरिबीसमेत मिसिएपछि आउन सक्ने उग्र क्रान्तिकारी र दक्षिणपन्थी अनुहारका अनेक शक्तिले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन थाल्नेछन् ।

साँझ–बिहान बालुवाटार गएर प्रधानमन्त्रीको ‘दृढता’ र ‘दूरदर्शिता’को आरती उतार्नेहरूको एकपछि अर्को राजकीय पदमा आरोहण हुनेछ । यसरी ठूलो मूल्य र लामो प्रतीक्षापछि आएको स्थिर लोकतान्त्रिक विकासको सपना तुहिँदै जानेछ । नेकपा र त्यसको सरकारले आफ्नो ऐतिहासिक भूमिका खेल्न नसक्ने परिस्थिति बन्दै जानेछ ।

फिनिक्सको बाटो
परिस्थितिको गम्भीरतालाई नेकपाका नेताहरूले, खासगरी कमरेड ओली र प्रचण्डले बुझ्नेछन् वा उनीहरूलाई बुझाइनेछ, पार्टी एकीकरणको प्रक्रिया आरम्भ भएपछि खुम्चिँदै गएको आन्तरिक लोकतन्त्र पुनर्बहाली हुनेछ, स्थायी कमिटी र केन्द्रीय कमिटीका अधिकार फिर्ता गरिनेछ, हुलमुलमा भए–गरेका गल्ती सच्याइनेछ, पार्टीको एकीकरण विधिसम्मत रूपमा पारदर्शी ढङ्गले सम्पन्न गरिनेछ ।

पार्टी र क्रान्ति गुट र त्यसका नेताका जिमदारी होइनन् भन्ने कुरा बहाल हुनेछ, पार्टीलाई व्यक्तिवाद, गुटवादी नश्लवादतर्फ होइन, माक्र्सवादतर्फ र पार्टीको घोषित सिद्धान्ततर्फ फर्काइनेछ, त्यसका आधारमा लाखौं सदस्य, समर्थक, शुभचिन्तकका बीचमा एकता स्थापित गरिनेछ, सबै नागरिकमा भविष्य निर्माणको आशा जागृत गरिनेछ ।

राष्ट्रिय एकतालाई बलियो बनाइनेछ, सबै राजनीतिक पार्टीसँग लोकतान्त्रिक सम्बन्धका आधारमा न्यूनतम राष्ट्रिय सहमति स्थापित गरिनेछ, विदेश सम्बन्धलाई पारदर्शी र स्वाधीनतामा आधारित बनाइनेछ । नागरिकका मागप्रति सरकारलाई सहिष्णु र सहानुभूतिशील बनाइनेछ ।

यस सन्दर्भमा नेकपाले दुइटा ऐतिहासिक भूमिका पूरा गर्नेछ– एक, ७० वर्षको शासकीय अस्थिरतापछि पहिलोपटक स्थिरताका साथ लोकतान्त्रिक विकासको सम्भावनालाई नेकपाको सरकारले यथार्थमा रूपान्तरण गर्नेछ ।

दुई, एक सय वर्षको दुनियाँको इतिहासमा निर्वाचनद्वारा संसद् र सरकारमा सर्वाधिक बलियो बनेको कम्युनिस्ट पार्टीले समाजवाद ल्याउँछ भन्ने कुरालाई सिद्धान्त र व्यवहारमा स्थापित गर्नेछ ।
नार्सिसस्को बाटोका लागि नेकपाले केही नगरे पुग्छ, आत्मरतिमा रमाइरहे पुग्छ, जे गर्नुछ, अरूले नै गरिदिन्छन्, अरू नै हिँडिदिन्छन् । फिनिक्सको बाटो आफैले हिँड्नुपर्छ, हिँडेको अभिनय गरेर हुँदैन, प्रमाणित गर्नुपर्छ ।

नेपाल : कहाँ छ सङ्कट ?
माक्र्सवादी साहित्यमा उत्पादक शक्ति भनिने अवधारणा मूलभूत रूपमा श्रमजीवी जनगण हो । यो दन्त्यकथाको यस्तो महावीर–दैत्य हो, जसलाई कज्याउन सक्दा पहाड–पर्वत सम्याउँछ, ठूलठूला नदीमा बाँध हाल्छ, समुद्रमा बस्ती बसाल्छ, रेल–रकेट कुदाउँछ ।

त्यो क्रुद्ध भयो भने विशाल साम्राज्यका किल्ला गल्र्याम–गुर्लुम ढलाउँछ, शासक–सत्तालाई धुलोपिठो पार्छ, आफ्ना अगाडि आउने सबै चिज भत्काउँछ । माक्र्सका अनुसार श्रमजीवी जनता आफ्नो जिन्दगीसँग असन्तुष्ट हुनथालेपछि र नयाँ जिन्दगीको खोजीमा आङ तन्काउन थालेपछि पुरानो समाजका सत्ता, कानुन, रीति–परम्परा, सोच–विचार चर्मराउन थाल्छन् ।

संसारको इतिहासले त्यही भन्छ । राजा महेन्द्रले केही समय अलमल्याएको त्यो दैत्यले वीरेन्द्रलाई हरायो र बहुदल ल्यायो, त्यसैले २०४७ सालको प्रजातन्त्र खायो । त्यही शक्ति हो, जसले माओवादीलाई असाधारण हर्षबढाइँका साथ सिंहदरबार पुर्‍यायो, २०६४ सालमा नेकपा एमालेलाई भुइँमा पछार्‍यो । फेरि त्यसैले २०७० सालमा माओवादीलाई जोरलात्ती हान्यो ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई जिताउने र नेपाली काङ्ग्रेसले इतिहासमा कहिल्यै नखाएको झापड हानेर मिल्काउने महावीर दैत्य–शक्ति पनि त्यही हो । आज त्यही शक्ति नेकपाको सरकारका अगाडि उभिएको छ, नेकपाले उसलाई नयाँ जिन्दगी दिनेछ भन्ने आशा र विश्वासका साथ ।

मानिस आफ्नो सुविधाका लागि बगेको खोला फर्किन्न भन्छन्, तर सङ्कट फर्किन्छ । भूमिसुधारबाट आन्तरिक पुँजी निर्माण गर्ने राजा महेन्द्रको घोषणा असफल भयो, औद्योगीकरणले खुट्टा नटेक्दा रोजगारीका नयाँ क्षेत्र खुलेनन्, व्यापार घाटा बढ्दै गयो, अर्थतन्त्रमा विदेशी ऋण–सहयोग बढ्दै गयो र त्यो पनि उत्पादक क्षेत्रमा लगानी भएन, भएकै लगानी पनि भ्रष्टाचार र अव्यवस्थाले प्रतिफल दिन सकेन ।

यसले गर्दा नयाँ जिन्दगीको खोजीमा उठ्दै गरेका गुजारा कृषिमा आश्रित किसान, भूमिहीन, निम्न मध्यम वर्गको पल्टनले पञ्चायतलाई आफ्नो शत्रु देख्न थाल्यो । तर अर्थतन्त्र र राजनीतिमा दलाल पुँजीवादले जरा हाल्दै गयो, दरबार दलाल पुँजीवादको नेता बन्न थाल्यो । पञ्चायत दलाल पुँजीवादका कारिन्दाहरूको राजनीतिकसङ्गठनमा रूपान्तरित हुँदै गयो ।

भत्किसकेको सामन्ती समाजबाट नयाँ औद्योगिक र लोकतान्त्रिक जीवनको खोजीमा निस्केको जनसङ्ख्याले आन्दोलनको बाटो लियो । अर्थात् महावीर जाग्न थाल्यो । उता राजाका कारणले नेपालमा आफ्ना सबै योजना लागु गर्न नसकेका भारत र पश्चिमी दुनियाँले पनि मौका पाए, आन्दोलनलाई साथ दिए । पञ्चायत ढल्यो ।

२०४६ सालपछि सत्तामा आएको नेपाली काङ्ग्रेस राजाले सुरु गरेको दलाल पुँजीवादकै बाटोमा हिँड्न थाल्यो । पहिलेको मध्यम वर्गीय काङ्गेस पार्टी, जसमा समाजवादको आकर्षण थियो, क्रमश: दलाल पुँजीवादी हुँदै गयो । विरोधबाट नतर्सिने, नडराउने, गर्नु–नगर्नु सबै गर्नसक्ने, समाजवाद, मूल्य, नैतिकता, आदर्शजस्ता रुढीग्रस्त विचारले प्रभावित नहुने विशुद्ध ‘आधुनिक’, ‘वैज्ञानिक’ जमात नेतृत्वमा भरिन थाल्यो । सरकार, संसद्, अदालत, कर्मचारितन्त्र सबै ठाउँमा तिनीहरूको वर्चस्व स्थापित हुँदै गयो ।

कहीं कतै असन्तुष्टि थिए भने तिनीहरूलाई कोइराला परिवारका गिरिजाबाबुको शक्तिशाली नेतृत्वले ठिकठाक पारिदियो । प्रजातन्त्रका नाममा झुन्डयाइएका, निर्वासित भएका, जेल–नेल भोगेका, पञ्चायतको जत्थाको आक्रमणमा परेका काङ्ग्रेसीलाई अपमानपूर्वक पछिल्लो कित्तामा नधकेलिकन, उनीहरूलाई हुतिहारा घोषणा नगरिकन, दुनियाँका सामु समानता–न्याय–अनुशासनको खिल्ली नउडाइकन, पुरानो सङ्गठनको दोहोलो नकाढिकन नयाँ र ‘विश्व स्तरको प्रजातन्त्र’को इज्जत स्थापित हुन सक्दैनथ्यो ।

त्यसका लागि नयाँ कीर्तिमानी काङ्ग्रेसीहरू चाहिन्थ्यो । तिनै काङ्ग्रेसले जे सोच्छन् वा जे गर्छन्, त्यही राष्ट्रियता, त्यही प्रजातन्त्र, त्यही समाजवाद हुँदै गयो । यसरी नेपाली इतिहासको एउटा ज्युँदो–जाग्दो पार्टी क्रमश: विचारहीन, सिद्धान्तहीन, उद्देश्यहीन हुँदै गयो । जुन अनुपातमा पुुरानो ‘प्रजातान्त्रिक समाजवादी’ नेपाली काङ्गेस मर्दै गयो, नयाँ दलाल पुँजीवादी काङ्ग्रेस झन्–झन् जवान हुँदै गयो ।

नेपाली काङ्ग्रेसमा प्रजातान्त्रिक समाजवादमा विश्वास गर्नेहरू धेरै थिए । तर एकातिर पुराना समाजवादीहरूभन्दा नवउदारवादले भर्खर तालिम दिएका तन्नेरी रिकुटेहरूको पाल्कीमा बसेका गिरिजाबाबु बलिया हुँदै गए, अर्कातिर ‘समाजवादको इतिहास मरिसक्यो’ भन्ने बोलको अन्तर्राष्ट्रिय गीतमा घन्केका गगनभेदी स्वरले ती समाजवादीहरू किंकर्तव्यविमुढ भए ।

नवउदारवादको यार्चागुम्बा खाएर सिंहदरबारमा चैतेहरूले छाती तन्काउन थालेपछि नेपालीकाङ्ग्रेसको ऐतिहासिक प्रगतिशील भूमिका अन्त्य भैसकेको थियो । जुन कारणले नेपालको इतिहासमा राजतन्त्रले आफ्नो औचित्य समाप्त गरेको थियो, त्यही ठाउँमा नेपाली काङ्ग्रेस आइपुग्यो । त्यसपछि उसका अगाडि ओरालो बाटोमात्रै बाँकी रह्यो ।

आज नेपाली काङ्ग्रेस श्रीमान देउवाको नालायकीका कारणले मात्रै अचानक भुइँमा पछारिएको होइन, बरु स्वयं नेपाली काङ्ग्रेसका नालायकीका वैध सन्तानका रूपमा देउवाजी नेता भएका हुन् । अब के कुरा ढुक्कसँग भन्न सकिन्छ भने अहिलेको बनिबनाउ नेपाली काङ्ग्रेस फेरि ब्युँतिन्न ।

विश्व विजेता ठानिएको बजार अर्थतन्त्रको सडकमा नेपाली काङ्ग्रेसले आफूलाई पछारेको थाहा पाएपछि नयाँ जिन्दगी खोज्ने महावीर दैत्य क्रुद्ध भयो र २०४७ सालको प्रजातन्त्र नै मिल्काइदियो । नयाँ जिन्दगीका आकर्षक नाराबाट प्रभावित भएर त्यसले माओवादीलाई अगाडि राखेर विजय जुलुस निकाल्यो, तर त्यो पनि लामो टिकेन । भारतको नाकाबन्दी आफ्नै जीवन विरुद्ध भएको र त्यस विरुद्ध उभिएको देखेर त्यसले वाम गठबन्धनलाई बोक्यो । र आज कमरेड ओलीको नेतृत्वमा सरकार बनेको छ ।

यसरी आज नेकपा राजा वीरेन्द्रकै गद्दीमा छ, गिरिजाबाबुकै शासनासनमा छ । हाम्रा अगाडि तिनैका सन्तानहरू छन्, जो गएका ४० वर्ष नयाँ जिन्दगी खोजी गर्दागर्दै मरेका थिए, आज विदेशी भूमिमा नारकीय जीवन बाँचेका छन्, देशभित्र पनि तन्नम गरिबी, अलगाव, विभेदमा परेका छन्, मानवीय जीवनको मर्यादाका लागि तड्पिरहेका छन् ।

सङ्क्षेपमा, राजा र काङ्ग्रेससँग विकास र समृद्धिको सपना नभएर तिनको हरिविजोग भएको होइन, अनेकथरी विज्ञले तयार गरेका असाध्यै राम्रा योजनाहरू थिए । उदाहरणका रूपमा राजा वीरेन्द्रले हरेक नेपालीको प्रतिदिन खानाको क्यालोरी, वर्षमा कति मिटर कपडा, कति चौडा घर, कति आयु, कस्तो स्वास्थ्य र शिक्षाजस्ता सबै कुराको चित्र भएकाको एसियाली मापदण्ड बनाएका थिए ।

लोकप्रिय प्रचारको कुरा गर्ने हो भने राजा महेन्द्रको गाउँफर्क जत्तिको व्यापक कुनै अभियान भएन होला, शक्तिशाली नेतृत्वको कुरा गर्ने हो भने गिरिजा जत्तिको शक्तिशाली को होला ? मुलुकको विकासका लागि राजा–काङ्ग्रेससँग सबै थोक थियो । तर विकासको सङ्गठन थिएन, पार्टी थिएन । उनीहरूले विकासका नाममा आफ्नो पार्टीलाई राज्य दोहन गरेर खाने केन्द्रदेखि गाउँसम्म फैलिएको दलाल पुँजीवादको कारिन्दा संयन्त्र बनाए । केही समय उनीहरूको जयजयकार पनि भयो । तर जब प्रलयको दिन आयो, ती सबै दुलामा पसिकेका थिए ।

एच जी वेल्सको एउटा मार्मिक कथा छ, ‘प्रेमको मोती’ । एउटा राजकुमारले असाध्यै माया गरेकी राजकुमारीको मृत्यु हुन्छ । शोकसन्तप्त राजकुमारले प्रेयषीको सम्झनामा उनको लास मणिमाणिक्य जडित बाकसमा राख्छन् र त्यो बाकस राख्ने एउटा भव्य स्मारक बनाउन लगाउँछन् । बनाउँदै जाँदा त्यो स्मारक आफैमा यति भव्य बन्छ कि लासको बाकस त्यहाँ राख्दा स्मारकको भव्यता कम हुने भयो । शोकाकुल राजकुमार स्मारकको भव्यता रोज्ने कि प्रेयसीको लास भन्ने द्विविधामा पर्छन् । अन्तत: राजकुमार स्मारकको सौन्दर्यका लागि लासको बाकस हटाउने निर्णय गर्न पुग्छन् । दलाल पुँजीवादको भव्यताले नेता र पार्टीलाई विस्तारै ख्वाउँदै–पिलाउँदै, नाच्दै–हसाउँदै आफ्नो दरबारको ढोकामा पुर्‍याउँछ, जहाँबाट हेर्दा आफ्नो उद्देश्य वा सिद्धान्तभन्दा दलाल पुँजीवादको तिरिमिरी जीवनको महानतम उपलब्धि लाग्छ । वस्तुत: ‘प्रेमको मोती’ राजा–काङ्ग्रेसको उत्थान र पतनको कथा हो, दलाल पुँजीवादसँग लहसिने भविष्यका राजा–काङ्ग्रेसको पनि कथा हो ।

कस्तो छ, नेकपा ?
सङ्गठनात्मक व्यवस्थापनको हिसाबले नेपालकै सबैभन्दा राम्रो पार्टी नेकपा एमाले थियो । आफ्नो सिद्धान्त जनताको बहुदलीय जनवाद भनेको चुनाव जित्नु हो, त्यसका लागि जनतासँग एकाकार हुनुपर्छ भन्दै जाँदा यो सङ्गठन जन्ती–मलामी जाने, पूजा–पाठ–स्वस्थानी व्रतकथा संगठित गर्ने, मन्दिर–गुम्बा–मस्जिद बनाउने, वन–पानी–विद्यालय उपभोक्ता समितिमा चुनाव जित्ने र गाउँ र संसदीय निर्वाचन जित्ने ध्याउन्नमा सीमित हुँदै गयो ।

सङ्गठन जनतासँग एकाकार हुँदै गयो, तर माक्र्सवाद र जनताको बहुदलीय जनवादसँग छुट्टिँदै गयो । जनताको बहुदलीय जनवादबाट उसले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा मदन भण्डारीको ‘जीवनका लागि सिद्धान्त हुनुपर्छ, सिद्धान्तका लागि जीवन होइन’ थियो । मदन भण्डारीले त्यो कुरा मानव जीवनका सन्दर्भमा भनेका थिए ।

समय क्रममा एमालेका नेता–कार्यकर्ताले जीवन भनेकोआफ्नो निजी जीवन बुझे र आआफ्नै जनताको बहुदलीय जनवाद बनाए र त्यो बुढाबुढी–केटाकेटी सबैलाई हुने च्यवनप्रासको विज्ञापनजस्तो हुँदै गयो । सामाजिक–राजकीय जिम्मेवारी निभाउने क्रममा माथिदेखि तलसम्मको एउटा हिस्सा ‘मह चाट्ने’ काममा अभ्यस्त हुँदै गयो, ठूलाले ठूलै हात चाटे सानाले साना हात । यसरी नेकपा एमालेको त्यो हिस्सा दलाल पुँजीवादको ड्राइभर–खलासी भैसकेको थियो ।
नेकपा माओवादी केन्द्र सशस्त्र विद्रोहको अभ्यासबाट आयो । त्यो पार्टी दमन, उत्पीडन, शोषण, विद्रोह, विभेद, क्रान्तिजस्ता अवधारणामाथि बनेको थियो । सामाजिक रूपान्तरणका विषयले त्यो पार्टीका कार्यकर्ता अरू पार्टीभन्दा छिटो आकर्षित हुन्थे । मृत्यु नाचिरहेको माओवादी पार्टी र त्यसका सदस्य हरेक क्षण बाँच्नका लागि नयाँ–नयाँ विकल्पको खोजीमा अभ्यस्त भए । गर्दै जाँदा विकल्पमात्रै खोज्ने राजनीतिक संस्कार विकास हुँदै गयो । राम्रो–नराम्रो विचार गर्नै नपर्ने भयो, नयाँ भए पुग्यो ।

त्यस अस्थिरताले गर्दा माओवादी पार्टीको राजनीतिक संस्कृति नै बनेन । ‘माक्र्सवाद–लेनिनवाद–माओवाद–प्रचण्डपथ’को असली भाष्य ‘जता भत्क्यो, त्यतै दैलो’ भयो । ‘पेसेवर क्रान्तिकारीहरूको’ ढाँचामा बनेको हुँदा नकमाउने तर राम्रै जिन्दगी बाँच्ने कला सिक्न तिनीहरूलाई धेरै समय लागेन । संक्षिप्तमा, ती दुवै पार्टीको एउटा हिस्सा एकीकरण दलाल पुँजीवादका मझेरीमा भैसकेको थियो ।

यसको अर्को पाटो पनि छ । नेकपाको साङ्गठनिक संरचना चानेचुने कुरा होइन । आजको नेकपा संघीय र प्रदेश सरकारहरू, स्थानीय तह र संसद्मा करिब २० हजार जननिर्वाचित प्रतिनिधि, हजारौं सामाजिक, व्यावसायिक तथा पेसागत सङ्घ–संस्थामा यसको फैलावट, केद्रदेखि टोलसम्म झाङ्गिएको यसको पार्टी र जनसङ्गठनको संरचना, कुनै जिम्मेवारीमा नभए पनि आफूलाई पार्टीको जिम्मेवार कार्यकर्ता ठान्ने र जिम्मेवारी पूरा गर्ने हजारौं कार्यकर्ता र करिब ७ लाख सङ्गठित सदस्य, विदेशमा रहेका र अनेकन तरिकाले पार्टीलाई सघाइरहेका समर्थक–शुभचिन्तकको भीमकाय पार्टी हो र छ ।

‘वर्गशत्रु सफाया’देखि जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको लामो र कठिन तालिमबाट निस्केका, जनताकै लागि भनेर घरबार बिगारेका, आफन्त गुमाएका हजारौं कार्यकर्ता र तिनलाई माया गरेका, तिनको भोकतिर्खा देखेका लाखौं समर्थक–शुभचिन्तकको पङ्क्ति छ । पार्टीको एउटा उद्देश्य, एउटै कार्यभार र एउटै नाराको झण्डामुनि ती सबैलाई समेट्न सक्दा अजस्र शक्ति उत्पन्न हुन्छ ।

भनिएझैं नेकपा एमालेको सङ्गठनात्मक व्यवस्थापन र नेकपा माओवादी केन्द्रमा बाँकी रहेको रूपान्तरणकारी चेतनालाई एकैठाउँमा ल्याएर परिचालित गर्दा ५/१० वर्षमा यस मुलुकमा असाधारण परिवर्तन सम्भव छ । त्यसरी मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ सम्भव हुन्छ ।

कुन बाटो हिँड्छ ?
नेकपाको यो विराट शक्तिलाई एउटा सुस्पष्ट सिद्धान्त वा विचार–शृङ्खला र जनवादी पार्टी पद्धति बाहेक गुट, गुटको नेता कुनै पनि चिजले एकीकृत गर्न सक्दैन । रुमाल हालेर परेवा निकाल्ने जादु हेरेर हुर्केका हामीमध्ये कैयौंलाई समृद्धिको सिद्धान्त हुन्छ, सङ्गठन हुन्छ भन्ने कुरा मन पर्दैन । तर कुरा त्यही हो ।

हाम्रो समाज, वर्ग, तिनका स्थार्थ, राज्यसत्ता, राजनीतिमा आइरहने सङ्कटजस्ता प्रश्न र तिनको समाधानको समाजवादी प्रस्ताव सबैभन्दा राम्रोसँग माक्र्सवादले नै दिन्छ । नवउदारवादका हिजोका प्रवक्ताहरूसमेत अहिले कुनै न कुनै खालको समाजवादको कुरा गर्न थालेका छन् । र ती सबैले अहिलेको वर्चस्वशाली आर्थिक चरित्रको विकल्प खोज्न थालेका छन् ।

यसरी अहिलेको दलाल पुँजीवादका ठाउँमा उत्पादक/राष्ट्रिय पुँजी विकास गर्ने र उत्पादित राष्ट्रिय वैभवको न्यायपूर्ण वितरण गर्ने र समाजवादको तयारी गर्ने कुरामा पनि प्राय: सहमति छ । यस विचार–शृङ्खलालाई माक्र्सवादी सिद्धान्तको ढाँचामा व्याख्या गरेर नेकपाले ‘राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने’ कार्यभार निर्धारण गरेको हो । त्यस्तो पार्टी–सिद्धान्तले ‘काम गर्न सक्नेलाई काम र नसक्नेलाई संरक्षण’को प्रत्याभूति गर्ने राज्यको परिकल्पना गर्छ ।

त्यस्तो राज्य निर्माणको कार्यभार बोक्नेसङ्गठनले मात्रै नेकपालाई राजा–काङ्ग्रेसबाट छुटयाउँछ । त्यसो गर्न नसक्दा नेकपाको सङ्गठन पनि राजा–काङ्ग्रेसको जस्तै हुनेछ, राष्ट्रिय ढुकुटीमा जुकाझैं टाँसिएको परजीवी सङ्गठन ! स्वर्गको ठेगाना, नर्कको बाटो ! फेरि अस्थिरता ! फेरि महावीर दैत्यको रौद्र ताण्डव !
राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने पार्टी कस्तो हुन्छ भन्नेबारे हामीले बेला–बेला चर्चा गर्दै आएका छौं । त्यसका तीनवटा मुख्य विशेषता हुन्छन्– एक, हरेक सदस्य आफ्नो उत्पादनमा बाँच्छन् ।

दुई, ती सबैले राज्यलाई कर तिर्छन् । तीन, आफूले कर तिरेर चलेको राज्य हो भन्ने सचेत दाबीका साथ ती सबैले राज्यलाई श्रमजीवी, पिछडिएका, दलित, जनजाति, महिलाप्रति जिम्मेवार हुन दबाब दिइरहन्छन् ।

हरेक सदस्य आफ्नै कमाइमा बाँच्ने कुराले पार्टीलाई भ्रष्टाचारबाट मुक्त गर्ने आधार दिन्छ । आफै करदाता हुने भएको हुँदा हरेक सदस्य आर्थिक अनियमितताप्रति जागरुक भैरहन्छ, राज्यप्रति नागरिक दायित्व स्थापित गर्छ । राज्यले लिने करको उपयोग श्रमजीवी वर्गको पक्षमा छ वा छैन भन्ने कुरामा पार्टी सदस्यको प्रत्यक्ष संलग्नताले उसलाई सबै प्रकारका सामाजिक विभेद विरुद्ध सक्रिय राख्छ । त्यस्तो सक्रियताले सदस्य र कमिटीहरूलाई माक्र्सवादी बनाइरहन्छ ।

स्थानीय तहले राष्ट्रिय पुँजी र न्यायपूर्ण वितरणका लागि आआफ्नो क्षेत्रमा काम गर्छन् । प्रधानमन्त्री, मन्त्री, सांसद, मुख्यमन्त्री, नगर र गाउँपालिकाका पदाधिकारीले सम्बन्धित तहका पार्टीका योजना अनुसार आआफ्नो तहको जिम्मेवारी बहन गर्छन् ।

गाउँ–नगरसम्मका पार्टी कमिटीमा हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण कसरी सप्रिन्छ, सामाजिक विभेदहरू अन्त्य कसरी हुन्छन् जस्ता एजेन्डामाथि छलफल हुन्छ । पार्टीमा गुटका नेताको आशिर्वाद महत्त्वहीन हुँदै जान्छ, सबै सदस्य चाकरीमा होइन, आफ्नै कर्ममा विश्वास गर्न थाल्छन् । र चुनावका टिकट वितरण, ठेक्का वा पदको वितरण र बढीमा चियापान कार्यक्रम आयोजनामा खुम्चिएको अहिलेको पार्टी जीवन्त पार्टी–समृद्धिको राजनीतिक सङ्गठनमा रूपान्तरित हुन्छ ।

त्यस्तो पार्टीले नेतृत्व गरेपछि राज्यका अन्य निकाय र कर्मचारीतन्त्रले भ्रष्टाचार गर्न सक्दैन, मुलुकमा वास्तविक सुशासन आउँछ । सार्वजनिक, निजी र सहकारी लगानीको उपयुक्त वातावरण बन्छ । उत्पादन बढ्छ र सबै क्षेत्र र जातजातिका नागरिकको जीवनस्तर बढ्छ । सबैतिर फैलिएको बलियो सङ्गठन र राज्यको संरक्षणले कसैले हल्लाउनै नसक्ने बलियो नेपाली राष्ट्रियता सम्बद्र्धन हुँदै जान्छ ।

त्यस्तो पार्टीका जनसङ्ठन पनि रूपान्तरित हुन्छन् । पढ्नेहरूको सङ्गठन विद्यार्थी सङ्गठन हुन्छ, अगुवा अनुसन्धाताको बुद्धिजीवी सङ्गठन हुन्छ, युवाको उत्पादक क्षमता बढाउन विभिन्न अभियान चलाउने नौजवानको युवा सङ्गठन बन्छ । महिला सङ्गठनले किशोरी–युवतीलाई आफ्नै खुट्टामा बाँच्न सक्ने, सामाजिक–राजनीतिक क्षेत्रमा नेतृत्व गर्न सक्ने बनाउन थाल्नेछ, पढाउनेहरूको सङ्गठन शिक्षक
सङ्गठन हुनेछ । पत्रकारिता गर्नेहरूकै पत्रकार सङ्गठन हुनेछ । सेवा दिने क्षमता वृद्धि गर्नु कर्मचारी सङ्गठनको एकमात्र काम हुन्छ ।

घुँडा टेक्ने–टेकाउने वा प्रसस्ति लेख्ने–लेखाउने प्रचलनका ठाउँमा सांस्कृतिक सङ्गठनले मान्छेको स्वतन्त्रता र गरिमा, श्रमको सिर्जना र मर्यादा, लोकतन्त्र र समानताको महत्ताको प्रगतिशील संस्कृति निर्माणमा योगदान गर्छ । र यसरी आजको तेस्रो विश्वमा समाजवाद उन्मुख बलियो लोकतान्त्रिक नमुना नेपाल राज्यको निर्माण हुन थाल्नेछ ।

अन्त्यमा,
माक्र्सले दर्शनशास्त्रमा गरेको एउटा महान योगदान के हो भने उनले इतिहास कस्तो छ, भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको अकाटय र असाध्यै सजिलो उत्तर दिए– मान्छेले जस्तो बनाए इतिहास त्यस्तै बन्यो, मान्छेले जस्तो बनाउँछन् भविष्य त्यस्तै बन्छ । नेकपा नार्सिसस्को बाटो हिँड्ला कि फिनिक्सको बाटो भनेर सोधिएको भए माक्र्सले नि:सन्देह भन्ने थिए– यो प्रश्न तिनीहरूलाई नै सोध, उनीहरू कुन बाटो हिँड्न चाहन्छन् ।

किन मर्छन् कम्युनिस्ट पार्टीहरू 

नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार आधारभूत रूपले पूरा भएको छ । अब अर्को नयाँ जनवादी क्रान्ति हुँदैन । त्यसैले अब सेना वा हतियार आवश्यक छैन । यही नै जनवादी राज्यव्यवस्था हो । यसमा सहभागी बन्दै सामाजिक-आर्थिक रूपान्तर र समृद्धिमा केन्दि्रत हुँदै बढ्नु नै आजको कार्यभार हो ।

‘यथार्थमा -माओवादी) पार्टी मरिरहेको छ’, कमरेड प्रचण्डले पार्टीमा पेस गरेको प्रतिवेदनमा यी पङ्क्ति लेखिएका छन् । प्रचण्डका अनुसार, ‘पार्टीको संगठनात्मक स्थिति भयावह रूपले विघटित र विसर्जित भइरहेको छ । ….यथार्थमा पार्टी मरिरहेको छ, गुटहरू मौलाइरहेका छन्, गुटहरूभित्र पनि उपगुटहरू अझ झाँगिएका छन्, उपगुटहरूभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ । ….लेबी, कोटा, आर्थिक पारदर्शिता, त्याग-बलिदान सबैलाई व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको छ….सर्वत्र व्यक्तिगत स्वार्थ हावी हुँदै गइरहेको छ ।’
आफ्नो असफलतालाई स्वीकार्दै उनी भन्छन्, ‘गहिरिँदै गएको राजनीतिक संकटलाई क्रान्तिकारी संकटमा बदल्ने तथा जनविद्रोहद्वारा सत्ता लिने प्रयत्न’ गरिएको थियो, तर त्यस्तो ‘विद्रोह सफल हुनसकेन ।’ कमरेड प्रचण्डले बीस वर्षभन्दा बढी निरन्तर र एकलौटी नेतृत्व गरेको ‘सर्वहारा वर्गको अग्रदस्ता’ माओवादी विभिन्न हिसाबले, उनकै भाषामा ‘स्खलित’ भएर लेबी, कोटाजस्ता पार्टीका नियमित स्रोतहरूमा समेत अपारदर्शिता व्याप्त हुनु र त्यस पार्टीका सबैलाई ‘व्यक्तिगत स्वार्थको बुल्डोजरले किचिरहेको’ र ‘पार्टी मरिरहेको’ अवस्था आउनुमा को जिम्मेवार छ त ?
२०५७ सालतिर माओवादी ‘जनयुद्ध’लाई विश्व क्रान्तिको केन्द्र भनिन्थ्यो । त्यसको नेताका हिसाबले कमरेड प्रचण्डलाई विश्व क्रान्तिकै नेता भनियो, आफू विश्व क्रान्तिको नेता भइसकेको कुरा प्रचण्ड स्वयम्ले बेला-बेलामा सार्वजनिक गरेका थिए । उनै प्रचण्ड अगुवा रहिरहेको एकीकृत माओवादी किन यो हालतमा आयो ? प्रचण्डले यस्ता प्रश्नहरू त गरेका छन्, तर तिनको कारण र समाधानबारे केही पनि उल्लेख गरेका छैनन् । माओवादी शान्ति प्रक्रियामा किन आयो त ? भन्ने प्रश्नबारे घुमाउरो उत्तर छ ः विद्रोह सफल हुन नसकेको हुनाले । के अब उनले विद्रोहको राजनीति छोडेका हुन् त ? त्यसो पनि होइन, उनैका अनुसार, अहिले ‘सेना समायोजन र पुनःस्थापन गर्नु तथा संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु….नयाँ ढङ्गले चार आधार निर्माण गरी क्रान्तिलाई निरन्तर अगाडि बढाउने नयाँ पहल हो ।’ उनको प्रतिवेदन पढ्दा माओवादी पार्टी शान्ति प्रक्रियामा आउन थालेपछि मर्दै जान थालेको हो वा शान्ति प्रक्रिया र संविधान निर्माणमा अझ राम्ररी जान नसक्दा त्यसो भएको हो भन्ने स्पष्ट छैन । पार्टी मर्दै गरेको घोषणा गर्ने प्रचण्ड स्वयम् अर्को ठाउँमा भन्छन्, ‘…. नयाँ जनवादलाई पार्टीको रणनीति र …न्यूनतम कार्यक्रम मान्ने…जनताको संघीय गणतन्त्रलाई पार्टीको मूल कार्यनीति बनाउने तथा राष्ट्रिय स्वाधीनता र संघीय गणतन्त्रमा जोड दिँदै जनविद्रोहमा जाने कुरामा समेत पार्टीमा कुनै औपचारिक विवाद छैन ।’ त्यस्ता महत्त्वपूर्ण विषषमा विवाद छैन भने पार्टी किन ‘मर्छ’ ? वा ‘पार्टी मरिरहेछ’ भन्ने हल्ला चलाएर उनले के गर्न खोजेका हुन् ?

माओवादी विवादको मुख्य विषय आज शान्ति र संविधान मुलुकको आवश्यकता हो । तर त्यसलाई हाम्रो राजनीतिक जीवनको आवश्यकताभन्दा पनि ‘उपयोग गर्ने’ अर्थमा मात्रै प्रयोग गरियो भने शान्ति र संविधान दिगो हुँदैन । कमरेड प्रचण्डको प्रतिवेदनले के देखाउँछ भने उनले एउटा प्लेकार्ड बोकेका
छन् । त्यसको एकातिर ‘क्रान्ति’ लेखिएको छ, अर्कोतिर ‘शान्ति’ । या त त्यहाँ अलग-अलग अर्थ छ या अर्थै छैन । यदि विद्रोह नै गर्ने हो भने भएकै हतियार बिसाएर र सेना विघटन गरेर कसरी विद्रोह हुन्छ ? अर्को विद्रोह गर्ने नै हो भने शान्ति प्रक्रिया र संविधानको निर्माणमा लाग्नु भनेको स्वतः दक्षिणपन्थी, अवसरवादी वा पलायनवादी काम हुन्छ कि हुँदैन ? ‘जनताको संघीय गणतन्त्र’ नै ठीक हो भने यो लोकतान्त्रिक गणतन्त्रभन्दा के फरक छ ? यदि ‘नयाँ जनवादलाई पार्टीको रणनीति र…न्यूनतम कार्यक्रम’ मान्ने हो भने शान्ति प्रक्रियाबाट त्यो कसरी पूरा हुन्छ ? उनले कल्पना गरेको ‘जनविद्रोह’ कसरी हुन्छ ? अर्थात् नयाँ जनवादी क्रान्तिको मुख्य राजनीतिक कार्यभार नै बाँकी छ भने ‘जनसेना’ विघटन गर्नेभन्दा ठूलो गद्दारी के हुनसक्छ ? किरणहरूका यस्ता अनेकौँ प्रश्नहरूको उत्तर प्रचण्डले दिनु पर्नेछ । प्रचण्ड भन्न सक्छन् ः क्रान्ति भइसकेको होइन, शान्तिपूर्ण रूपले सत्ताकब्जा गर्ने बाटोमात्रै खुलेको हो । त्यसो हो भने दुनियाँलाई उनले बताउनुपर्ने हुन्छ ः शान्तिपूर्ण सत्ताकब्जाको बाटो के हो त ? यदि शान्तिपूर्ण क्रान्ति नै गर्ने हो भने पनि अबको क्रान्ति कुन वर्गको विरुद्ध हुन्छ ? कुन वर्गलाई लिएर सम्पन्न गरिन्छ ? अहिलेका कुन-कुन पार्टीले प्रतिनिधित्व गरेका वर्गका विरुद्ध त्यो क्रान्ति सम्पन्न गरिएला ? क्रान्ति गरेपछि कस्तो राजनीतिक व्यवस्था स्थापना गरिन्छ ? लोकतान्त्रिक व्यवस्था हुन्छ कि माओवादले भनेजस्तो ‘नयाँ जनवादी’ व्यवस्था हुन्छ ? यदि लोकतान्त्रिक नै हुन्छ भने यो लोकतन्त्र र त्यो लोकतन्त्रमा के फरक हुन्छ ? आदि ।
कमरेड प्रचण्ड अहिले यस्तै अनेकौँ प्रश्नको घेरामा परेका छन् । ससाना व्यक्ति र घटनाहरूले ‘शक्तिशाली’ व्यक्तित्वसँग प्रश्न गर्ने साहस गर्दैनन् । सोधिहाले पनि सुनवाइ हुँदैन, किनकि साना घटना र व्यक्तिका सीमा धेरै हुन्छन् । तर जब सिङ्गो इतिहास खडा भएर चिहानमा गाडिएका प्रश्नको बाकस खोलेर सोध्न थाल्छ, त्यसपछि इतिहासका कथित शक्तिशाली व्यक्तित्वहरूको परीक्षा पूरा हुन्छ । वस्तुतः नेकपा माओवादीको उत्थानको कथामा कथित ‘जनयुद्ध’को रणभूमिमा वास्तविक पात्रहरूले खेलेको भूमिकामात्रै थिएन, त्यसभन्दा पनि रङ्गमञ्चहरूमा सूत्राधारद्वारा नियन्त्रित अभिनय अझ महत्त्वपूर्ण थियो । निश्चय नै यस वास्तविकतालाई इन्कार गर्नु अन्याय हुनेछ कि त्यस ‘जनयुद्ध’मा हजारौँ युवक-युवतीले आफ्नो जीवन अर्पण गरे, जवानीको बलिदान गरे, सिउँदो मेटाए, काख रित्याए, टुहुरा भए- जसरी कि नाटकहरूमा गरिबी र अत्याचार वा बलात्कारविरुद्ध लडिरहेको कुनै व्यक्तिको अभिनयमा गरिब, निमुखा वा प्रेमी-प्रमिकाहरूले आफ्नो अनुहार देख्छन् र घुँक्क-घुँक्क रुन्छन् । कस्तो विरोधाभाष बन्न जान्छ भने जो नाटक खेल्दैछ, उसले नियोजित भूमिका खेलिरहेको हुन्छ वा त्यो आफैंमा अवास्तविक हुन्छ । तर वास्तविक मानिसहरू अवास्तविक घटनाबाट नराम्ररी प्रभावित हुन्छन्, रुन्छन्-कराउँछन् वा दुःखी हुन्छन् ।
त्यसैगरी ‘जनयुद्ध’मा आफ्नो सम्पूर्ण मुक्तिको सपना देखेकाहरूमा आज रुवाबासी हुनु स्वाभाविक छ । संवैधानिक राजा र सार्वभौम सत्तासम्मन संसदका बीचका अन्तरविरोध, नेपाल र भारतका राष्ट्रिय हितका अन्तरविरोध, एमाले र काङ्ग्रेसका अन्तरविरोध, काङ्ग्रेसभित्रैका अन्तरविरोध, एमालेभित्रैका अन्तरविरोध, बाबुराम र वैद्यका अन्तरविरोध, बादल र बाबुरामका अन्तरविरोधका बीचमा कमरेड प्रचण्डको व्यक्तित्व बनेको थियो । एकका विरुद्ध अर्कोलाई प्रयोग गर्न सक्दासम्म उनको प्रचण्डपथ अनुसार सबै कुरा सम्भव हुँदै गएको थियो । कुनै एउटाले सोधेको प्रश्नको उत्तर अर्कोबाट दिलाउन सकिन्थ्यो । राजाको प्रश्नको उत्तर ‘र’ले दिन्थ्यो, ‘र’को प्रश्नको उत्तर राजाले दिन्थे, पुलिसको उत्तर शाही सेनालाई दिन लगाइन्थ्यो, माधव नेपालको प्रश्नको उत्तर गिरिजाले दिँदा हुन्थ्यो । वैद्यका कति प्रश्नको उत्तर बाबुरामको मुखबाट बोल्न लगाइयो, बाबुरामलाई पनि कैयन्पटक वैद्यले उत्तर दिए । अतिरिक्त ‘चलाखी’ भएको व्यक्तिले समाजका सामान्य मानिस र संस्थालाई समेत सजिलै गोलमालमा पार्न सक्छन् । तर जब इतिहासले ती सबै प्रश्नलाई एउटै खाङ्ग्रोमा हालेर त्यो ‘युगीन’ चलाखका अगाडि ठिङ्ग उभिन्छ, त्यसबेला भाग्ने ठाउँ नै रहन्न । अनि अन्तरविरोधमा खेलेर बनेको पार्टी मर्न थाल्छ । यो कदापि संयोग होइन कि आज कमरेड प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी ‘मरिरहेको छ’ । र यो पनि महत्त्वपूर्ण छ कि यो कुरा अरूले होइन, स्वयम् कमरेड प्रचण्डले इतिहासको प्रारम्भिक इजलासमा कबोलिरहेका छन् ।
‘नेपालमा नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार आधारभूत रूपले पूरा भएको छ । अब अर्को नयाँ जनवादी क्रान्ति हुँदैन । त्यसैले अब सेना वा हतियार आवश्यक छैन । यही नै जनवादी राज्यव्यवस्था हो । यसमा सहभागी बन्दै सामाजिक-आर्थिक रूपान्तर र समृद्धिमा केन्दि्रत हुँदै अगाडि बढ्नु नै आजको कार्यभार हो । पुँजीवादी जनवादी राजनीतिक कार्यभार पूरा भएकोले राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्न अगाडि बढौँ’ भनेर घोषणा गर्नसकेको भए प्रचण्डका भनाइमा सैद्धान्तिक तर्कसङ्गति हुन्थ्यो । पार्टीको छलफल वास्तविक रूपले वैचारिक-सैद्धान्तिक बन्ने थियो । शान्ति र संविधानको काम पनि क्रान्तिलाई संस्थागत गर्ने कार्यभार अन्तर्गत नै हुन्थे । इतिहासको मूल्याङ्कन हुँदै गथ्र्यो । आजको राजनीतिमा उनको इमानदारिता स्थापित हुन्थ्यो । तर उनले यो तथ्यलाई बुझ्न सकेनन् । उनी हिजोजस्तै ‘माओवादी’ पनि बन्न चाहने र आजका परिवर्तनको बाहक पनि बन्न चाहने असम्भव आग्रहले पीडित हुनपुगे । परिवर्तनलाई बुझ्न र व्याख्या गर्न पनि नसक्ने र विद्रोह छोड्न पनि नसक्ने नेतृत्वका कारण गर्दा उत्पन्न हुुने गतिरोधमा पार्टीभित्र विकृतिहरू झाँगिनु वा पार्टी अन्योलको अँध्यारो गुफामा भासिँदै जानु स्वाभाविक हुन्थ्यो, भयो । आफैं अन्योलमा फँसेको नेतृत्वले औपचारिक रूपमा जुन कुरा बोलिरहेको हुन्छ, वास्तविकतामा त्यो हुँदैन । जुन चिज वास्तविक दुनियाँमा छ, त्यो उसले बोलिरहेको हुँदैन । नेताहरूको यो विभाजित व्यक्तित्वबाट अर्थात् सैद्धान्तिक अवसरवादबाट प्रतिक्षित कार्यकर्ताहरूसमेत सिद्धान्तहीन हुँदै गएपछि पार्टीमा सिद्धान्तको नाममा सिद्धान्तहीनता नै उत्पादन हुनथाल्छ, सिद्धान्तहीनतालाई नै सिद्धान्त भन्न थालिन्छ । बरु वास्तविक सिद्धान्तलाई बदनाम गरिन्छ । क्रमशः पार्टीहरू टपरटुइयाँहरूको कब्जामा पर्न जान्छन् । सबैले जानेको कुरा हो, राजनीति भनेको दैनन्दिन शक्ति सन्तुलनको लेखाजोखा हो । सिद्धान्तले निर्देशित नगर्ने बित्तिकै राजनीतिमा धोखा, षडयन्त्र, जालसाजी, कृतघ्नता, खुट्टा तानातान, अनैतिकता, लोभ, ईष्र्याजस्ता चिजमात्रै बाँकी रहन्छन् । संयोग हो वा नियति आज माओवादीले यही भोगिरहेको छ र प्रचण्ड भन्दैछन् ः माओवादी पार्टी मरिरहेछ ।
किन मर्छन्, कम्युनिष्ट पार्टी ? यस्ता कम्युनिष्ट पार्टीहरूको समस्या के छ भने उनीहरू वस्तुगत -वास्तविक) दुनियाँलाई बुझ्नुपर्छ भनेर दोहोर्‍याइरहन्छन्, तर स्वयम्चाहिँ वास्तविक दुनियाँमा आउन चाहन्नन् । ‘फूल हेर्नुछ भने घोडाबाट उत्र’ भन्ने माओको उक्ति दोहोर्‍याउँछन्, तर आफैंचाहिँ घोडाबाट उत्रिन्नन् । उनीहरू घोडाबाट उत्रेर माओको अनुशरण गर्ने भएर होइन, बरु माओको उक्ति कण्ठस्थ गरेकाले आफूलाई माओवादी भन्ठान्छन् । खासगरी क्रान्तिबारे ती कम्युनिष्टहरू कस्तो घातक भ्रममा छन् भने वास्तविक जीवन र अवास्तविक क्रान्तिमध्ये उनीहरू क्रान्ति नै रोज्न पुग्छन् । लेनिन र माओले अबको दुनियाँमा पुँजीपति वर्गले पुँजीवादी क्रान्तिसमेत गर्न सक्दैन, त्यसैले पुँजीवादी क्रान्तिको कार्यभार पनि सर्वहाराको एकलौटी काँधमा आएको छ भनेका थिए । कम्युनिष्ट साहित्यमा त्यसको अर्थ के हुनगयो भने कुनै पनि पुँजीवादी क्रान्तिको नेता सर्वहारा वर्ग वा कम्युनिष्ट पार्टी हुन्छ, अर्थात् कम्युनिष्ट पार्टीको नियन्त्रणमा छैन भने कुनै पनि राजनीतिक आन्दोलन क्रान्तिको स्तरमा विकसित हुनै सक्दैन ।
विश्व क्रान्तिको सन्दर्भमा औपनिवेशिक साम्राज्यवादको कालमा देखापरेको एउटा परिदृश्यका आधारमा लेनिन र माओहरूले बनाएको उक्त मान्यता नै त्यसपछि संसारभरिका ‘नयाँ जनवादी’ वा ‘राष्ट्रिय जनवादी’हरूका लागि क्रान्तिको सर्वोत्तम सूत्र हुनपुग्यो । त्यस नजरबाट समाज र राजनीतिलाई हेर्ने कम्युनिष्टहरूका लागि साम्राज्यवादले गरेको शोषणको महत्त्व छ, तर औपनिवेशिक साम्राज्यको पतनको कुनै खास अर्थ छैन । हिजोको सामन्तवाद सत्य हो, तर त्यसको उन्मूलन उल्लेख्य घटना होइन । हिजोको पुँजीवादी शोषणको विश्लेषण गर्नुपर्छ, तर आजको पुँजीवादलाई नबुझे पनि हुन्छ । सोभियत समाजवाद ऐतिहासिक परिघटना हो, तर त्यसको पतनको कुनै ठूलो अर्थ छैन । उनीहरू माओले भनेकोसम्म कण्ठै बताउन सक्छन्, तर आफ्नै समाजबारे कम बोल्छन्, किनकि हाम्रो समाजबारे माओत्सेतुङले केही भनेका थिएनन् । उनीहरू प|mान्सेली राज्यक्रान्तिबारे कमबेसी बताउन सक्छन्, रूसी क्रान्तिका घटना धेरैलाई कण्ठै छ, चीनबारे उनीहरूले यसरी व्याख्या गर्छन्, मानौँ त्यो उनीहरूको आफ्नै जीवनको घटना थियो । तर आफ्नै समाजबारे भने अति कम अध्ययन-अनुसन्धान वा विचार-विमर्श गर्छन् ।
क्रान्तिको विश्व साहित्यमा प|mान्सेली राज्यक्रान्तिको ठूलो महत्त्व छ । तर ००७ सालको क्रान्तिले खेलेको भूमिका नेपाली इतिहासको सानोतिनो घटना थिएन । त्यहाँ रक्तपात बढी भयो, यहाँ थोरै, त्यहाँको सामन्ती व्यवस्था बढी संगठित थियो, यहाँको कमजोर, त्यहाँ राजतन्त्र गयो, यहाँ राणातन्त्र गयो । त्यसमा क्रान्तिकारी घनत्व बढी थियो, यहाँ कम थियो । त्यो क्रान्ति पुरानो र नयाँ प|mान्सको सीमारेखा थियो भने ००७ साल पुरानो र नयाँ नेपाली समाजको पानीढलो थियो । प|mान्सेली क्रान्तिको सबैभन्दा ठूलो उपलब्धि सबै नागरिकले पाएको सावधिक मताधिकार थियो भने ००७ ले पनि त्यसको घोषणा गरेको थियो । नेपालका ती कम्युनिष्टहरूका लागि प|mान्सेली राज्यक्रान्ति महान घटना हो भने ००७ सालको घटना ‘पुरानै बोतलमा नयाँ रक्सी’जस्तै हो वा सामान्य घटना हो । सन् १९०५ को रूसी राजनीतिक घटना क्रान्ति हो, किनकि लेनिनले त्यसै भनेका थिए । वास्तवमा ००७ सालमा नेपाली जनताले जुन उपलब्धि पाएका थिए, त्यसको तुलनामा १९०५ मा रूसी जनताले केही पनि पाएका थिएनन् । त्यस्तै सन् १९११ मा चीनमा भएको परिवर्तन क्रान्ति थियो, किनकि यो कुरा माओले भनेका थिए । तर नेपालमा ०४७ मा भएको उनीहरूका लागि ठूलो कुरा होइन । निरङ्कुश राजतन्त्र भएको सामाजिक-आर्थिक-राजनीतिक अवस्था र कम्युनिष्ट पार्टीले समेत चुनावद्वारा सरकार बनाउनसक्ने सामाजिक- आर्थिक-राजनीतिक अवस्था उनीहरूका लागि उस्तै भयो । जबकि माओले ‘अब सर्वहारा वर्गले बाहेक अरू कसैले पुँजीवादी क्रान्ति गर्न सक्दैन’ भनेपछि जति मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति भए, त्योभन्दा बढी मुलुकमा पुँजीपति वर्गको नेतृत्वमा पँुजीवादी क्रान्ति भए । पूर्वी एसिया, अरब मुलुकहरू र ल्याटिन अमेरिकाका कैयन् मुलुकहरूमा भएका क्रान्तिहरू नै यसका ज्वलन्त उदाहरणहरू हुन् । तिनै मुलुकमा समेत क्रान्तिबारे लेनिन र माओका उक्तिमा टाँसिएर बस्ने कम्युनिष्टहरूले क्रान्तिका कार्यभार बुझ्न सकेनन्, जसले गर्दा कम्युनिष्ट पार्टीहरू एकलकाँटे, पुरातनपन्थी, जड हुँदै गए र जनताबाट अलग्गिँदै गए । अर्थात् कम्युनिष्ट पार्टीहरू ‘मर्दै’ गए ।

मिति पुस २०, २०६८ मा कान्तिपुर दैनिकमा प्रकाशित 

नयाँ जनवादी’ क्रान्ति भइसक्यो, यसलाई जोगाऊ
कस्तो विडम्बना छ भने क्रान्ति भइसकेको हुन्छ, तर उनीहरू फेरि पनि ती कम्युनिष्टहरू क्रान्तिकै कुरा गर्छन् । जस्तो कि भारतमा सन् १९४७ मा भएको परिवर्तन राष्ट्रिय स्वतन्त्रतामात्रै थिएन, पुँजीवादी राजनीतिक क्रान्ति पनि थियो । तर त्यहाँका कम्युनिष्टहरूले त्यसको महत्त्वलाई बुझेनन् र फेरि पनि ‘नयाँ जनवादी’ वा ‘राष्ट्रिय जनवादी’ क्रान्ति गर्नुपर्छ भनिरहे । सम्पन्न भइसकेको क्रान्ति दोहोर्‍याउने ध्याउन्नमा भारतमा तेलङ्गाना विद्रोहदेखि अहिलेसम्म लाखौँको सङ्ख्यामा मानवजीवनको लेनदेन भयो । चीनमा त्यही क्रान्ति कम्युनिष्टहरूको नेतृत्वमा भएको थियो भने भारतमा पुँजीपति वर्गको नेतृत्वमा भयो भन्ने कुराको भेउ नै पाएनन् । जसमा कम्युनिष्टहरूको समेत महत्त्वपूर्ण योगदान थियो । आफ्नै आँगनमा ५० वर्षअघि सम्पन्न भएको क्रान्तिबारे उनीहरू अझैसम्म पनि अनभिज्ञजस्तै छन् । सर्वहारा वर्गको प्रतिनिधि भनिएको कम्युनिष्ट पार्टीले चुनावद्वारा सरकार बनाउनसक्ने सामाजिक-आर्थिक अवस्थालाई समेत उनीहरूले सामन्ती वा अर्ध-सामन्ती भनेर त्यसैलाई ‘ध्वस्त’ गर्ने सपना देखे । पश्चिम बङ्गाल र केरलामा उनीहरूले जे गरेका थिए, ती धेरै महत्त्वपूर्ण थिए, तर उनीहरूले नै आफ्ना उपलब्धिको अवमूल्यन गरे । उनीहरूले त्यसलाई ‘सुधार’मात्रै भने र क्रान्ति त भएकै छैन भने । कम्युनिष्टहरू अर्को राजनीतिक क्रान्तितिर लागे, जबकि त्यो सम्पन्न भइनैसकेको थियो । जुन गरेका थिए, त्यो ‘सामान्य’ वा ‘उस्तै’ भयो, जुन हुनै सक्दैनथ्यो, त्यो ‘महत्त्वपूर्ण’ वा ‘क्रान्तिकारी’ भयो । यसरी ‘सुधार’ जीवनको वास्तविकता र ‘क्रान्ति’ केवल सपनाको नारा बन्दै गयो । उनीहरूले जुन काम गरेका थिए, त्यसको महत्त्वलाई अझ स्थापित गर्दै र जनताको पक्षमा त्यस्ता काम अझ धेरै गर्दै गएका भए आज उनीहरूको अवस्था अर्कै हुन्थ्यो । पहिले उनीहरूले काम गरेर भोट अत्यधिक भोट पाउँथे । उनीहरू आफैंले गरेका काम महत्त्वहीन भएपछि जनताले किन भोट दिनुपर्‍यो र ! तर भोट घट्दै गएपछि त्यही भोटका लागि अरूले जस्तै धाँधली गर्नुपर्ने अवस्थामा पुगे । ‘क्रान्ति’ का लागि चुनावमा धाँधली गर्नुपर्ने भयो । स्वतन्त्रता संग्रामका बेलाको भारतीय साहित्यको वैचारिक दिशा निःसन्देह रूपले वामपन्थी थियो । उनीहरू लोकपि्रय पनि थिए । तर आज त्यहाँ किन वामपन्थी भोट घट्दै गयो ? उनीहरूको औपचारिक मूल्याङ्कनलाई विश्वास गर्ने हो भने ‘साम्राज्यवाद र अरू शत्रुहरूले षडयन्त्र गरेर’ कम्युनिष्टहरूको भोट कम आएको हो । त्यसलाई मान्न सकिन्छ । तर त्योमात्रै सही हो भने त साम्राज्यवादले षडयन्त्र गर्न छोडेपछि मात्रै क्रान्ति हुने भयो !
आज नेपालमा त्यही भएको छ । नयाँ जनवादी वा लोकतान्त्रिक वा जनतान्त्रिक वा प्रजातान्त्रिक जे भने पनि ०६२/६३ मा जे भयो, त्यो पुँजीवादी क्रान्ति नै हो । ०४७ सालमा जे भएको थियो, आधारभूत रूपले त्यो पनि पुँजीवादी जनवादी क्रान्ति नै थियो । त्यसमा केही सीमा थिए । ती सीमालाई मदन भण्डारीले संविधानमा रहेका आलोचनात्मक पक्ष भनेर आलोचना गरेका थिए, अर्थात् त्यो अझै पूर्ण भएको छैन भन्ने उनको भनाइ थियो । तर आधारभूत रूपमा त्यो जनक्रान्तिको उपलब्धि थियो । जनक्रान्तिको परिभाषाबारे १९१७ मै लेनिनले ‘बहुसंख्यक जनताले भाग लिएको’ राजनीतिक आन्दोलनलाई जनक्रान्ति भनेका थिए । अझ ०६२/६३ को आन्दोलनमा त बहुसंख्यक जनताले भागै लिएको कुरा सबै पार्टीले आआफ्ना प्रतिवेदनमा लेखेका छन् । सन् १८८० को दसकमै एङ्गेल्सले प्रजातन्त्रले गणतन्त्रमा पूर्णता पाउँछ भनेर राजनीतिक आन्दोलनको व्याख्या गरिसकेका थिए । तर विडम्बना के छ भने नेपालका ती कम्युनिष्टहरूका लागि ०६२/६३ ले गणतन्त्रको स्थापनासमेत क्रान्ति बन्नसकेको छैन ।
२०४७ को क्रान्तिकारी महत्त्वलाई कम्युनिष्टहरूले बुझेको भए आज ‘विदेशी प्रभु’ले नेपालको राजनीतिलाई निर्देशित गर्ने अवस्था आउँदैनथ्यो, साम्राज्यवादी पैसाको बलमा अन्ध-जातिवादी/विखण्डनवादी सामाजिक भाँडभैलो हुँदैनथ्यो । शान्तिपूर्ण र प्रजातान्त्रिक बाटोबाटै सामाजिक न्याय र राष्ट्रिय स्वतन्त्रताको अझै फराकिलो अभ्यासका साथ नेपाल धेरै अगाडि पुग्थ्यो । कतिपय सीमाहरू थिए, तर त्यसको चरित्र मूलतः ‘लोकतान्त्रिक’ र ‘राष्ट्रिय’ थियो । यो लाक्षणिक छ कि ०४७ सालको प्रजातन्त्र मासेर ‘नयाँ जनवाद’ ल्याउन प्रचण्डले ‘विस्तारवादी’ भारतमा ‘सेल्टर’ पाएका थिए, सिमानापारिबाट ट्रकहरूमा विस्फोटक पदार्थहरू भित्रिन सम्भव भएको थियो । अहिले फेरि धेरै ठूलो राष्ट्रिय र सामाजिक मूल्यमा पाएको गणतन्त्रसमेत आज बेवारिस बन्दै गएको छ । नेपालमा प्राप्त गरिएको ‘नयाँ जनवादी राजनीतिक व्यवस्था’ संकटमा छ ।

सिद्धान्तमा र्फक, माक्र्सवादमा र्फक
माक्र्सवादी सिद्धान्तको नजरबाट नेपाली समाजलाई हेरिएको भए ०४७ सालपछिको ‘जनयुद्ध’ गरेर राष्ट्रिय जीवनशक्तिलाई कमजोर पार्ने उपक्रमतर्फ माओवादीहरू लाग्दैनथे । आज मुलुकले जुन राजनीतिक उपलब्धि पाएको छ, त्यसका लागि १६ हजार नागरिकहरूको बलिदान कुनै हिसाबले पनि जरुरी थिएन । आज माओवादी राजनीतिलाई हेर्दा के देखिन्छ भने किरणले माओवादमात्रै बुझे, माक्र्सवादमा टेकेनन् । प्रचण्डले माओवाद छोडेर भाग्दैछन्, तर माक्र्सवाद समातेनन् । अहिले प्रचण्ड मैदानबाट भगाइलाई नै सिद्धान्त भन्दैछन्, उता किरणहरू माओवादलाई नै माक्र्सवाद भन्दैछन् । सिद्धान्तको प्रश्नमा घर न घाट भएका प्रचण्ड पार्टीबाहिर सहारा खोज्दैछन् । उनका लन्डन, मलेसिया, सिङ्गापुर वा सिलिगुडी भ्रमणहरू सिद्धान्तबाट भागेर समाधान खोज्न गरिएका प्रयास हुन् । मधेसी मोर्चाको बाबुराम सरकार पनि त्यसकै उपज थियो । एकबेला वानेश्वरको चोकमा उभिएर उनले विश्व मानचित्रमा भारत भन्ने कुनै अवाञ्छित क्षेत्र राखिएको छ जस्तोगरी भाषण गर्थे, अहिले भारतलाई ‘रामनाम’जस्तै एकमात्र सत्य मान्न थालेझैँ देखिन्छ ।
जे भए पनि ‘महान जनयुद्ध’को उत्थान र पतनको कथा भारतकै वरिपरि छ । अझै पनि शान्ति र संविधानलाई सिद्धान्तभित्रै राखेर हेरेनन् भने शान्ति र संविधानप्रति उनले अहिले देखाएको प्रयास अर्को एउटा चतुर्‍याइँमात्रै हुनेछ । भविष्यको जुन मुरादका लागि उनले यो सबै गर्दैछन्, अब सबैले बुझ्न थाले । धेरैजसो सपेराहरूको मृत्यु साँपले टोकेर हुने गरेको छ । जादुगरहरू आफ्नै जादुटुनामा पर्न सक्छन् । भनिन्छ, जाडोमा कठयाङ्गि्रएको भ्यागुतोलाई मनतातो पानीमा राख्दा आनन्द मान्छ । विस्तारै तातोपानी थप्दै जाँदा पनि उसलाई आनन्द नै लाग्छ । तर जब भ्यागुतोलाई असह्य हुन्छ र तातोपानीबाट निस्कन चाहन्छ, ऊ पानीबाट निस्कनै सक्दैन र मर्छ । अहिले प्रचण्डलाई भएको ‘फाइदा’ सिद्धान्तहीनताको न्यान्योमात्रै हो । सिद्धान्तहीनताको यस विसङ्गतिबाट बाहिर निस्कने एउटामात्रै र सबैभन्दा सजिलो बाटो सिद्धान्तमा र्फकनु नै हो, माक्र्सवादमा र्फकनु हो ।

लेख साभार कान्तिपुर दैनिक

प्रतिक्रिया