भारतमा आधार कार्ड बनाएर सरकारी सुविधा लिएको आरोपमा २७ नेपालीविरुद्ध मुद्दा दर्ता

भारतमा आधार कार्ड बनाएर सरकारी सुविधा लिएको आरोपमा २७ नेपालीविरुद्ध मुद्दा दर्ता


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २२ असार २०८३
  • 2.5K
    Shares

काठमाडौँ, २२ असार २०८३।

भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशका परिचयपत्र तथा नागरिकतासम्बन्धी कागजात प्रयोग गरेको आरोपमा २७ नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूले आधार कार्ड, मतदाता परिचयपत्रलगायत भारतीय सरकारी कागजात बनाएर विभिन्न सरकारी योजनाको लाभ लिएको आरोप लागेको छ।

बलरामपुरका प्रहरी प्रमुख (एसपी) विकास कुमारका अनुसार जिल्ला अधिकारी (डीएम) को उजुरीपछि गरिएको अनुसन्धानमा नेपालका दाङ जिल्लाको कोइलाबास क्षेत्रका केही व्यक्तिले आफूलाई बलरामपुरका विभिन्न स्थानका बासिन्दा देखाएर भारतीय कागजात बनाएको खुलेको हो।

अनुसन्धानका क्रममा ती व्यक्तिहरूको नाम नेपाल र भारत दुवै देशको मतदाता नामावलीमा रहेको भेटिएको प्रहरीले जनाएको छ। साथै आधार कार्ड, मतदाता परिचयपत्र र अन्य भारतीय कागजात प्रयोग गरी सरकारी सुविधा लिएको प्रारम्भिक प्रमाण फेला परेको दाबी गरिएको छ।

प्रहरीका अनुसार सूचीमा रहेका केही व्यक्तिको विवरणमा समेत गम्भीर अनियमितता भेटिएको छ। एक व्यक्तिको नाम सरकारी अभिलेखमा भए पनि उनी उक्त ठेगानामा नबस्ने र अर्का एक व्यक्तिको केही महिनाअघि नै मृत्यु भइसकेको भए पनि सरकारी अभिलेखमा नाम कायम रहेको अनुसन्धानबाट खुलेको छ।

जरवा प्रहरी थानाले सम्बन्धित कानुनी धाराअन्तर्गत मुद्दा दर्ता गरी सबै कागजातको प्रमाणीकरण तथा सम्बन्धित सरकारी निकायसँग विवरण मिलाउने काम गरिरहेको जनाएको छ। अनुसन्धानबाट पुष्टि हुने तथ्यका आधारमा थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया