काठमाडौँ, २२ असार २०८३।
कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रियापछि अचेत बनेका बैतडीको पाटन नगरपालिका–६ निवासी हेमन्त भण्डारीलाई भारतमा उपचारपछि घर फर्काइएको छ। परिवारले अस्पतालको चिकित्सकीय लापरवाहीका कारण उनी जीवन–मरणको अवस्थामा पुगेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने तयारी गरेको छ। यता अस्पतालले भने आफूहरूले आवश्यक उपचार गरेको र बिरामीलाई समयमै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ।
परिवारका अनुसार सामान्य छाती दुख्ने समस्या देखिएपछि भण्डारी सुरुमा डडेल्धुरा अस्पताल पुगेका थिए। त्यहाँ गरिएको ईसीजी परीक्षणमा मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई थप उपचारका लागि कैलालीको अत्तरिया हस्पिटल पठाइएको थियो।
भण्डारीका सहोदर दाजु उत्तम भण्डारीका अनुसार हेमन्त आफ्नी श्रीमतीसँग आफैं हिँडेर अस्पताल पुगेका थिए। तर, अस्पताल पुगेलगत्तै थप परीक्षण नगरी डडेल्धुरा अस्पतालको ईसीजी रिपोर्टकै आधारमा तत्काल मुटुको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले अप्रेसन गरेको परिवारको आरोप छ।
परिवारका अनुसार शल्यक्रियापछि सुरुआती केही घण्टासम्म स्वास्थ्य अवस्था सामान्य रहे पनि पछि उनी आईसीयूमै अचेत भएका थिए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्काल उपचार हुनुपर्ने अवस्थामा अस्पतालको लापरवाहीका कारण समयमै उपचार नपाएको दाबी परिवारको छ।
अवस्था जटिल बनेपछि भण्डारीलाई भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। परिवारका अनुसार त्यहाँका चिकित्सकले मुटुको अवस्था स्थिर रहे पनि शल्यक्रियाका क्रममा मस्तिष्कमा रगत प्रवाह गर्ने नसामा क्षति पुगेको आशंका व्यक्त गरेका थिए। मस्तिष्कमा पर्याप्त रगत सञ्चार हुन नसकेकाले स्वास्थ्यमा सुधारको सम्भावना न्यून रहेको भन्दै उनलाई अचेत अवस्थामै घर फर्काइएको परिवारको भनाइ छ। हाल भण्डारीलाई बैतडीस्थित आफ्नै घरमा राखिएको छ।
अस्पतालको स्पष्टीकरण
अत्तरिया हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीले भने भण्डारी मेजर हृदयाघातको समस्यासहित अस्पताल पुगेकाले तत्काल शल्यक्रिया गरिएको बताएका छन्।
उनका अनुसार शल्यक्रियापछि अर्को बिहान अचानक मुटुको धड्कनमा समस्या देखिएपछि बिरामीलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारपछि मुटुको धड्कनमा सुधार आए पनि होस नखुलेपछि थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिइएको उनले बताए।
कानुनी प्रक्रियामा जाने तयारी
परिवारले भने चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीकै कारण सामान्य अवस्थामा अस्पताल पुगेका हेमन्त भण्डारीको स्वास्थ्य गम्भीर बनेको दाबी गरेको छ। अत्तरिया हस्पिटलले आवश्यक परीक्षण नगरी हतारमा शल्यक्रिया गरेको तथा शल्यक्रियापछि पनि आवश्यक निगरानी र उपचारमा लापरवाही गरेको आरोप परिवारको छ।
स्वास्थ्यकर्मीसमेत रहेका हेमन्त भण्डारी पाटन नगरपालिकामा अहेबका रूपमा कार्यरत छन्। परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सम्बन्धित निकायमा जाने तयारी गरेको जनाएको छ।
अस्पताल र परिवारबीच आरोप–प्रत्यारोप भइरहेका बेला घटनाबारे कुनै आधिकारिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छैन।
समाचार स्रोत प्रेसपत्र डट कम