प्रहरीको राय विपरित दीपक मनाङ्गेलाई अपहरण तथा शरीर बन्धक अभियोग

प्रहरीको राय विपरित दीपक मनाङ्गेलाई अपहरण तथा शरीर बन्धक अभियोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ भाद्र २०७३
  • 12K
    Shares

प्रहरीले संगठित अपराधको अभियोग प्रस्ताव गरेपनि सरकारी वकिलको कार्यालयले दीपक मनाङ्गेलाई अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाएको छ । मंगलबार सरकारी वकिलको कार्यालयले मनाङ्गेबिरुद्ध जिल्ला अदालत काठमाडौंमा अपहरण तथा शरीर बन्धक उद्योग अभियोग अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानपछि संगठित अपराध अन्तर्गत दश बर्षको कैद सजायको माग गर्न  जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई अनुसन्धानको प्रस्तावित राय पठाएको थियो ।  परिसरले व्यवसायीलाई धम्क्याएको भन्दै मनाङेलाई असार १८ मा सहयोगी राजकुमार सिंह सहित पक्राउ गरेको थियो । उनको समुहमा अन्य तीन जना समेत रहेको भन्दै परिसरले उनीमाथी संगठित अपराध ऐन अन्तर्गतको अभियोगमा अदालतबाट अनुसन्धानको म्याद लिएको थियो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने फरार रहेका भनिएका तीन जनाको संलग्नता स्थापित हुन नसकेको भन्दै स‌ंगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेको हो । स‌ंगठित अपराध ऐनले तीन वा तीन भन्दा बढी संलग्न भएर गरिएको अपराधलाई समेट्दछ ।

प्रहरीले अनुसन्धान गरे पनि अभियोग पत्र भने जिल्ला न्यायाधिवक्ताबाट दर्ता हुन्छ । प्रहरीले अनुसन्धानको आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाउंछ । जिल्ला न्यायाधिवक्ताले प्रहरीको राय स्विकार गर्न पनि सक्छन् प्रस्तावित असुरको दफा परिर्वतन समेत गर्न सक्छन् ।

ठमेल आधार क्षेत्र भएका मनाङे विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरणको मुद्धा समेत खेपिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधीबाट १४ करोड कमाएको दावी गर्दै विशेषमा मुद्धा दायर गरेको थियो । धरौटीमा छुटेका उनको सो मुद्धा फैसला भने भएको छैन ।

प्रतिक्रिया