महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकास्थित नेकपाको पार्टी कार्यालयमा गएराति आगजनी भएको छ । बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा आगजनी भएको हो ।
ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा पेट्रोल छर्केर आगो लगाइएको छ ।
आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ भने घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेर क्षति भएको बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए । आगजनीमा करिब ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।
उक्त आगलागी कसले किन लगाएको हो स्पस्ट हुन सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।