पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ ।
हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका अभियुक्त बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्त भएको बताइएको छ ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै फिर्के खोला नजिक बेवारिसे अशक्त महिलामाथि मध्येराति साढे ११ बजे बलात्कार गरिरहेका पन्तलाई पक्राउ गरिएको हो ।
महिला अचेत अवस्थामा भेटिएकी थिइन् । उनको निधारमा चोट देखिएको छ । मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला दुई जना बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बेवारिशे अवस्थाकी अशक्त महिला वलात्कृत भएको सुचना पाएपछि प्रहरी सहायक निरिक्षक बद्रीनाथ शर्माको टोलीले पन्तलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको थियो । एकजना महिलामाथि वलात्कार प्रयास गरेको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको एक जना जुनियर प्रहरी अधिकृतले जानकारी दिएपनि यस विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।