अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई शनिबार घुससहित रंगेहात पक्राउ गरेको छ ।
रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो ।
उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।
प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।
गएराति पनि मुलपानीमा उनको संरक्षणमा चल्दै अाएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।