साउदीमा ३८ नेपाली अलपत्र

साउदीमा ३८ नेपाली अलपत्र


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०७५
  • 15K
    Shares

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ नेपाली कामदार अलपत्र परेका छन् ।

२०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।

 

साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिइन् ।

अलपत्र पर्नेमा सिन्धुलीका तीन, मकवानपुरका दुई, भोजपुरका एक, सर्लाहीका दुई, म्याग्दीका एक, बाग्लुङका एक, डडेल्धुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक छन् ।

क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरूले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमबार काममा जान इन्कार गरेका थिए । तलब नदिएपछि एक दिन काम छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिए ।

काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरूले एक दिन काम अस्वीकार गरेको बताइएको छ । अलपत्र युवाले युवाको तत्काल उद्धार गरिदिन सूचना केन्द्रलगायत सम्बन्धित निकायमा माग गरेका छन् ।

प्रतिक्रिया