ककपिटमा लेजर हान्ने समातिए

ककपिटमा लेजर हान्ने समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ भाद्र २०७३
  • 8K
    Shares

बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा जडीबुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरेन्द्र थापामगर रहेको जनाएको छ । ‘१९ वर्षीय तरकारी पसले केटो रहेछ,’ सैनिक स्रोतले भन्यो, ‘पहिलोपटक भएकाले उसले माफी मागेकाले सजग गराउँदै छाडिदियौं ।’

कोटेश्वरस्थित अरनिको राजमार्ग पछाडि जोडिएको विमानस्थलको भीओआर डीएमई उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरेको हो । ती युवकले आफूले जिस्किएर लेजर लाइट चलाएको सेनालाई प्रस्टीकरण दिएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले शुक्रबारको उक्त घटनापछि नागरिक उड्डयन प्राधिकरणले नागरिकहरूलाई जागरण गराउन बुधबारदेखि माइकिङ गरिने बताए । ‘धेरैलाई एउटा सानो लेजर लाइट अवतरण हुँदै गरेको विमानको ककपिटतर्फ लगाउँदा कति हानि पुग्छ भन्ने विषयको हेक्का नै नभएको देखिएकाले माइकिङ गर्ने भएका हौं,’ प्रवक्ता ठाकुरले भने ।

लेजर लाइट आक्रमण बेहोरेका निगमका पाइलटका अनुसार लामो समय लेजर लाइट आक्रमण भइरहे जहाज दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । प्राधिकरणले पहिलोपटक रिपोर्टमा आएको यो घटनापछि विमानस्थल आसपासका सर्वसाधारणलाई लक्षित गर्दै चेतनामूलक कार्यक्रम थाल्ने भएको हो ।

बैंककबाट फर्किंदै गरेको निगमको विमान ठैंचु नाघेर हात्तीवन माथिको आकाशमा आउँदै गर्दा ककपिटमा विपरीत दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा आक्रमण गरेको थियो ।

१ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर परेपछि उनीहरूले यो विषयबारे तत्कालै विमानस्थलको एटीसी प्रमुखलाई लिखित उजुरी दिएका थिए । चालकदलको उजुरीपछि त्यही साँझ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया