लिस्बन। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।
राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए।
अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो। कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो।
उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए। परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताए। कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उनले बताए।
कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ।