नेपाल बन्दका क्रममा पोखराको बिजयपुरमा राखिएको बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे घाइते भएका छन् । उनी पोखरामा सञ्चालित रेडियो गण्डकीका स्टेशन मेनेजर हुन् र गण्डकी टेलिभिजनका पत्रकार पनि हुन् । उनी प्रेस सेन्टर कास्कीका उपाध्यक्ष समेत रहेका छन् । उनीसँगै एकजना प्रहरी हवल्दार कुलबहादु खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएको छ ।
पोखराको बिजयपुरमा रहेको बमको समाचार संकलन गर्ने क्रममा बम विष्फोट भएको बताइएको छ । घाइते पत्रकार पाण्डेले आफ्नो घाँटी र टाउकोमा गम्भीर चोट रहेको जानकारी दिए ।
यसभन्दा अघि पोखराको नागढुंगामा रहेको बम डिष्पोज गरिएको थियो भने बिजयपुरमा रहेको बम डिष्पोज गर्न नेपाली सेनाको बम डिष्पोजल टोली नपुगेको अवस्थामा प्रहरीले घेरा गरेर राखेको थियो ।
