अध्यागमन विभागले आर्थिक वर्ष ०७२/७३ मा जघन्य अपराधमा संलग्न ४५ विदेशी नागरिकलाई देशनिकाला गरेको छ । जघन्य अपराधमा संलग्न विदेशी नागरिकको भिसा रद्द गर्दै नेपालबाट निकालिएको विभागले जनाएको छ । निकालामा पर्नेमा अधिकांश लागूऔषध कारोबारमा संलग्न छन् । उनीहरूलाई अधिकतम १० वर्षसम्म नेपाल आउन नपाउने गरी निकाला गरिएको विभागका प्रमुख केदार न्यौपानेले जानकारी दिए ।
विभागको विवरणअनुसार १ वर्षको अवधिमा ६ सय ६१ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७१ जनालाई जाली राहदानीमा मुद्दा चलाइएको न्यौपानेले बताए । पछिल्लो समय जाली राहदानीमा नेपाल आउने सिरियन नागरिकको संख्या बढेको थियो । विभागका अनुसार बिनाभिसा नेपाल बसेका २ सय ३६ विदेशी नागरिकलाई निकाला गरिएको छ ।
अध्यागमन कार्यालयबाट बाहिरिएपछि नेपालमा बस्ने विदेशीबारे अनुगमन नहुने हुँदा कानुनविपरीत काम गर्ने, बिनाभिसा लामो समयसम्म बसेका घटना बढेको उनले बताए । यसलाई नियन्त्रण गर्न होटलमा बस्ने विदेशी नागरिकबारे अध्यागमनले सूचना पाउने गरी प्रणाली स्थापना गर्ने तयारी थालेको न्यौपानेले बताए ।
१३ सय विदेशी वैध कामदार
आर्थिक वर्ष ०७२/७३ को विवरणअनुसार अध्यागमनले १ लाख ६३ हजार ५ सय १८ भिसा जारी गरेको छ । जारी भिसामा पर्यटकको संख्या सबैभन्दा धेरै छ । अध्यागमनले १ वर्षमा १३ सय ९८ वटा कामदार भिसा जारी गरेको छ । विवरणमा उल्लेख भएअनुसार ३१ सय ७८ जनाले बिजनेस भिसा लिएका छन् । ११ सय ४० वैवाहिक भिसा, ४ सय ६० एनआरएन भिसा, ३४ सय ७६ सम्बन्धका आधारमा जारी हुने भिसा, ४२ वटा रेसिडेन्टल भिसा, १९ सय ११ अध्ययन भिसा जारी भएको छ । १ वर्षको अवधिमा १ लाख ५१ हजार ४ सय ३२ विदेशी पर्यटक भिसामा नेपाल आएका छन् ।
परम्परागत पद्धति
आधुनिक अध्यागमनका लागि विभागले ३ वर्षअघि अध्यागमन प्रशासन आधुनिकीकरण योजना ल्याए पनि अझै कार्यान्वयनमा आएको छैन । भूराजनीतिक अवस्था, बढदो अन्तरदेशीय अपराध, मानव तस्करी, विदेशी नागरिकको आगमन र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढे पनि विवरण पद्धति आधुनिकीकरण नहुँदा परम्परागत पद्धतिकै भरमा अध्यागमन चलिरहेको छ ।
असुरक्षित विमानस्थलका रूपमा आलोचना बढेपछि सुरक्षा प्रणालीमा सुधार गरी नेपाल आउने र नेपालबाट बाहिरने यात्रुको प्रत्यक्ष तस्बिर लिएर सफ्वेयरमा विवरण राख्ने योजना बनाएको थियो । विभागले आर्थिक वर्ष ०७२/७३ मा आउने/जाने यात्रुको विवरण कार्डमा राख्ने परम्परागत पद्धति विस्थापित गरी प्रविधिमा आधारित पद्धतिको प्रयोग गर्न एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टमको उपयोग गर्ने परिकल्पना पनि साकार भएन ।
यात्रुले कार्डमा भरेको विवरणकै आधारमा उसलाई आउजाउ गर्न अनुमति दिनुपर्ने बाध्यताका कारण अन्तर्राष्ट्रिय रूपमै खोजिएका अपराधीसमेत सहजै नेपाल प्रवेश गर्न सक्ने अवस्था छ । सो प्रविधिअनुसार यात्रुको विवरण अनलाइनमार्फत आउने व्यवस्था, टिकट बुकिङ गर्नासाथ यात्रुको विवरण अध्यागमनले पाउने र उनीहरूको पृष्ठभूमिको विवरणसहितको प्रविधि भित्र्याउने तयारी गरेको थियो ।
अनुभवहीन कर्मचारी
सरुवाका लागि धेरै चाप पर्ने कार्यालयको सूचीमा पर्छ अध्यागमन । कम्प्युटरको सामान्य ज्ञानसमेत नभएका कर्मचारीसमेत काज र सरुवा मिलाएर विभाग आउने क्रम बढेपछि व्यवस्थित गर्न विषयप्रधान तालिम लिएका कर्मचारीलाई मात्र विभागमा काज र सरुवा हुने रणनीति बनेको थियो । अध्यागमनको वाषिर्क प्रगति विवरणमा सो रणनीति ‘कार्यान्वयन हुन नसकेको’ सूचीमा छ ।