यातनाविरुद्ध डिएसपी शर्मामाथि मुद्दा दर्ता

यातनाविरुद्ध डिएसपी शर्मामाथि मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३२ साउन २०७३
  • 9.6K
    Shares

प्रहरीले सुपारी व्यापारीलाई हिरासतमा राखी यातना दिएको विरुद्धमा यहाँको जिल्ला अदालतमा नायव उपरीक्षक विनोद शर्मा र रातोमाटो गण हेटौंडा दरबन्दी भई जिल्लामा कार्यरत निरीक्षक शशीकुमार ठाकुरमाथि मुद्दा दायर भएको छ ।मटिअर्वा- ९ का जय माँ दुर्गा ट्रेडर्सका सञ्चालक बृजकिशोर साहले मुद्दा दायर ती दुइ प्रहरी अधिकृतबिरुद्ध मुद्दा दायर गरेका हुन्र । जिल्लामा जनस्तरबाट प्रहरीविरुद्ध मुद्दा दायर भएको सम्भवत: यो पहिलो हो ।

असार १५ मा दायर उक्त मुद्दामा पहिलो सुनुवाई हुँदा विपक्षी प्रहरी अधिकृतद्वय शर्मा र ठाकुरलाई लिखित जवाफ दिन अदालतले आदेश गरिसकेको छ । जसअनुसार ठाकुरले मात्र जवाफ दिएको र शर्मालाई त्यही घटनाअन्तर्गत प्रहरी मुख्यालयले तानेपछि उनले जवाफ दिन नआएको अदालत स्रोतले बतायो ।

‘यातना सम्बन्धी ऐन २०५३ को दफा ३, ५, ६ र ७ बमोजिम न्यायको लागि मुद्दा दर्ता गराएको हुँ,’ पीडित साहले मुद्दामा उल्लेख गरेका गरेका छन् । मुद्दा ठहर भएमा पीडितलाई क्षतिपुर्ती भराउने र दोषीमाथि सजाय हुने कानुनी व्यवस्था रहेको जिल्ला न्यायाधिवक्ता खडानन्द गौतमले बताए ।

गत जेठ २३ देखि असार २ सम्म १२ दिन मलाई डिएसपीले आफ्नो कोठामा राखी बाँसको लाठी, हात, मुक्का र बुटले चुट्दा टाउको, आँखा, हात, कानमा समस्या भएको मुद्दामा उल्लेख छ । ‘डिएसपी ‘साब’ ले आफ्नो कोठामा राखी गाली गालीगलौजसहित अमानवीय व्यवहार गर्दा प्रतिवाद गरेपछि झनै कुट्नुभयो,’ पीडित साह भन्छन्, ‘मानसिक र शारीरिक यातना सहन नसकेपछि दोषीउपर हदैसम्मको सजायको लागि न्यायालय पुगेको छु । सुपारीको कारोबार गरेवापत एसपी साहेब र अरु क–कसलाई कति पैसा दिएका छौं, कागजमा सही गर भन्दै कुट्नुभयो । म सुपारी तस्कर होइन, सरकारलाई विधिवत कर तिरेर व्यापार गर्छु भन्दा मान्नुहुन्थेन ।’

गत बैशाख ८ मा प्रहरीले आफ्नो गोदाम मटिअर्वा ९ बाट १२ हजार ५ सय किलोग्राम सुपारी बरामद गरी राजश्व अनुसन्धानमा दाखिला गर्दा प्रहरी र राजश्व विरुद्ध लिलाम बिक्री नगर्नु नगराउनु भन्दै पुरावेदन अदालत हेटौंडामा निषेधाज्ञाको लागि रिट गरेको र सोही घटनामा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले १२ प्रहरीलाई कारबाही गरेको रिस साध्न आफुलाई मुद्दामा फसाएर यातना दिएको पीडित साहले बताए । जेठ ६ मा पुनरावेदनले राजश्वको नाममा बरामद सुपारी तत्काल लिलाम नगर्न र बरामद गर्नुको कारण देखाऊ भनेर प्रहरीलाई अन्तरिम आदेश गरेको थियो । ‘जिल्लामा एसपी नभएको (विदामा गएको) मौका छोपी डिएसपी साबले म घरमा बसिरहँदा जेठ २३ मा पक्राउ गरी झुठमुठको सार्वजनिक अपराध लगाई हिरासतमा राखेर यातना दिनुभयो,’ उनले भने, ‘दिउँसो आफ्नो कोठा र रातीराती हिरासतमा राख्नुहुन्थयो ।’ उता डिएसपी शर्माले साहकै कारण प्रहरीमाथि कारबाही भएको र सुपारी बरामद गर्न जाँदा स्थानीयले उक्साएर ढुंगामुढा गराएकोले मुद्दा चलाएको बताए । तर आफुले यातना नदिएको उनले दाबी गरे ।

प्रहरीले पक्राउ गर्दा पीडितको पक्षबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर भएपछि जिल्ला प्रशासनले पाँच हजार धरौटीमा साहलाई तारेखमा छाडेको थियो । आर्थिक मिलेमतोमा सुपारी तस्करी गराएको भन्दै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले वीरगन्ज अञ्चल प्रहरी कार्यालयका घुमुवा प्रहरी नायब निरिक्षक राजेश यादवलाई निलम्बन, मटिअर्वा चौकीका इन्चार्ज असई रञ्जित दास, घुमुवा प्रहरी हवल्दार नागेन्द्र बैठा, जवान दिनेश पासवान, प्रमोद राउत अहिर, अशोककुमार प्रसादलाई जागिरबाट बर्खास्त, हवल्दारद्वय जितेन्द्र यादव र रामसेवन दासलाई एक तह घटुवा गरेको थियो ।

जवान हिम्मतलाल दास, राजेश्वर राउत अहिर, रामबालक महरा, रामचन्द्र बस्नेत, सन्तोषकुमार यादवलाई सुरु तलब स्केल कट्टाको कारबाही गरेको थियो । यसैगरी पछि सोही घटनामा उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीलाई नसिहत र नायब उपरिक्षक विनोद शर्मालाई चेतावनीसहितको कारबाही गरेको थियो । फर्म दर्ता बिना नै कारोबार गरिरहेको, राजस्व कार्यालयबाट कारोबार गर्ने स्थान नखुलाएको र गोदामको अनुमति नलिएको भन्दै प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुपारी बरामद गरेको थियो ।

बिना मुचुलका प्रहरीले छापा मारी सुपारी बरामद गरेको भन्दै स्थानीयबासिन्दाहरुले प्रहरीमाथि ढुंगामुढासमेत गरेको थियो । पछि जिल्लाबाट थप टोली गएपछि स्थिती समान्य बनेको थियो । ढुंगामुढाले प्रहरी उपरिक्षक उप्रेतीलाईसमेत चोटपटक लागेको थियो ।

http://bit.ly/2aXrI04

प्रतिक्रिया