यतिखेर बेलायतमा कमै हुने घटनाबाट राजधानी सहर लन्डन अस्तव्यस्त बन्न पुगेको छ । बेलायतको दक्षिणपूर्वी भूभाग तथा लन्डनबाट बाहिर जाने रेल सेवा बन्द भएको देख्ने पुस्ता नै लन्डनमा थिएन । अहिले भने त्यहाँ मजदुरले सोमबारदेखि घोषणा गरेको पाँच दिन लामो हडतालका कारण सर्पझैं कुदिरहने रेलहरू निष्प्राण अजिंगरझैं पल्टिएर बसेका छन् ।
बेलायतमा रेल सेवामा सन् १९६८ पछि भएका मध्य यो लामो हडतालमध्ये एक हो । रेल कम्पनीले ल्याएको स्विचद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्थाका कारण मजदुरको जागिर गुम्ने भएपछि त्यसको विरोधमा हडताल भएको हो ।
दक्षिणी रेल यातायात कम्पनी गोभिया थेम्सलिङ रेलमार्ग सेवाले ल्याएको योजनाले यात्रुको सुविधामा समेत असर पर्ने बताउँदै त्यसको विरोधमा आफूहरूले आन्दोलन सुरु गरेको मजदुर संगठनले जनाएको छ । सरकारले मजदुरहरूलाई वार्तामा बोलाएकाले बिहीबार र शुक्रबारको हडताल भने स्थगित गरिएको हडतालकर्ता संगठनले जनाएको छ ।