स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिका क्षेत्रका गाईपालक किसान दुध बिक्री नहुँदा मर्कामा परेका छन् । चापाकोट क्षेत्र नगर उन्मुख भएसँगै व्यबसायिक रुपमा गाईपालन शुरु गरेका किसान अहिले दुध बिक्री नहुँदा फाल्नुपर्ने अबस्थामा पुगेको गण्डकीबेशी गाईपालन समुहका अध्यक्ष गोपिचन्द्र भट्टराईले बताए ।
परम्परागत रुपमा पशुपालन गरेका किसान जर्सी, होलस्टेन जातका गाई पाल्न थालेर व्यबसायिक रुपमा लागेसँगै अहिले दुध बिक्री नहँुदा फाइदा लिन नसकेको गाईपालक शेषकान्त भण्डारीले बताए ।
गण्डकीबेशी गाईपालन समुहमा ५० घरपरिवार आबद्ध छन् । समुहमा आबद्ध भएर व्यबसायिक गाईपालनमा लागेका किसानबाट दैनिक २ सय लिटर दुध सङ्कलन केन्द्रमा सङ्कलित भएपनि ३०/३५ लिटर मात्र बिक्री हुने गरेको सङ्गलन केन्द्रका गोबिन्द सिग्देलले जानकारी दिए ।
असारदेखि असोजसम्म गाईबस्तु पालेका घरघरमा पनि दुध बढी हुने गर्दछ । ४० हजारदेखि १ लाख रुपँैयासम्म हालेर गतबर्ष असोजदेखि किसानले गाई भि¥याएका हुन् । तर दुध बिक्री नहुँदा लगानी पनि नउठ्ने चिन्ता उनीहरुको छ ।