कार्तिक १४ आश तमु ,पोखरा
“प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका साथ हुने भेलामा बिभिन्न प्रवाश शाखा लगाएत शुभ चिन्तकहरुले भेलाको सफलताको लागी अार्थिक सहयोग गर्ने क्रम तिब्र चलेको वताएका छन। प्रथम बोन्पो लम भेलाका आर्थिक सयोजक समेत रहेका तमु प्ये ल्हु सङ्घ कास्कीका कोषाध्यक्ष समेत रहेका क्रिष्ण बहादुर तमुले अहिले सम्म चार लाख उनन सत्तरी हजार सन्ता नब्बे रुपैया कोषमा जम्मा भएको बताए।
त्यसै गरी प्रचार प्रसार उप समितिका सयोजक मणिलाल तमुले भेलाको तिब्र रुपमा प्रचार प्रसार भएको बताएका छन्। भेलाको रोड व्यानर,पर्चा सम्बन्धित जिल्लामा पठाई सकेको उहाले बताए।
भेलाको पहिलो दिन कार्तिक २४ गते पोखरामा झाँकीसहित र्यालीले नगर परिक्रमा गरी समुद्घाटन समारोह, २५ गते बोन्पो लम सम्बन्धी कार्यपत्र प्रस्तुत, विभिन्न धार्मिक प्रस्तुतिहहरु र तमु बोन्पो लम गठन गर्ने र तेश्रो दिन कार्तिक २६ गते केन्द्रीय युवा समिति तथा विभिन्न तमु समाजहरुको साँस्कृतिक कार्यक्रमसहित घोषणापत्र जारी गर्दै भेला समापन गरिने प्रचार प्रसार उप समितिका सयोजक मणिलाल तमुले बताए।
बोन्पो धर्मगुरु बोन्पो लम लोप हुदै गएकाले बोल्पो लमको तथ्याङ्क संकलन गर्ने, बोन्पो लमलाई तमु प्ये ल्हु संघमा सम्पर्क गराउने,बोन्पो लमको पहिचानसहित प्रदर्शन गर्ने, बोन्पोलम बारे जनमुदायलाई जानकारी गराउने, समिति गठन गरी संस्थागत रुप दिने, बोन्पो लमको उत्थानका बारेमा छलफल गर्ने, बोन्पो लमको प्ये संकलन तथा पोखरा तयारबारे छलफल गर्ने, बोन्पो लमको चेला प्रशिक्षण एव उत्पादन गर्ने र बोन्पो लमको संरक्षण सम्बद्धृन तथा प्रवद्र्धन गरी उत्थान गर्ने उद्धेश्य रहेको तमु प्ये ल्हु संघ कास्की जिल्ला समितिकी सचिव बिष्णु तमुले जानकारी दिनुभयो ।
प्रथम ऐतिहासिक तमु बोन्पो लम भेलामा गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ्ग, तनहुँ, धादिङ्ग र संखुवासभा लगायतका जिल्लाबाट सहभागीता रहने सचिव तमुले बताउनुभयो । भेलामा गोरखाबाट करिब १ सय ५०, लमजुङबाट ७, तनहुबाट १०, संखुवासभाबाट ५, कास्कीबाट १० जना, मनाङ्गबाट ५ जना, र अन्य जिल्लाबाट १० जना गरी दुईसय तमु बोन्पो लमको सहभागीता रहने बताइएको छ ।
उक्त भेला सम्पन्न गर्नका लागि तमु प्ये ल्हु संघ यकेका सल्लाहकार तथा पुर्व सचिव भेग च्हाक्ली तमुको प्रमुख संयोजकत्वमा १९ देशका ४२ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरी क्रियाशील रहेको प्रचार प्रसार उप समितिका सयोजक मणिलाल तमुले बताएका छन।
तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्वमा, जिल्ला समिति कास्कीको आयोजना तथा तमु प्ये ल्हु संघ जिल्ला समिति लमजुङ र जिल्ला समिति गोरखाको सहआयोजना, देशभरका जिल्ला तथा ईकाई शाखाहरु लगायत प्रवास शाखाहरुको संयुक्त सहभागीतामा हुने भएको हो ।