बिन्ध्यवासिनी स्टोर्समा खानै नहुने र अखाद्य वस्तु

बिन्ध्यवासिनी स्टोर्समा खानै नहुने र अखाद्य वस्तु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० साउन २०७३
  • 12K
    Shares

उपभोक्ताबाट अत्यधिक गुनासो आउन थालेपछि पोखरामा बजार अनुगमनले तीब्रता पाएको छ । बिहीबार आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग बजार अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीको नेतृत्वमा अनुगमन गर्दा किराना पसलहरुमा अखाद्य र मिति नाघेका वस्तु भेटिएको छ ।

बगरको मेरी विन्ध्यवासिनी स्टोर्समा मैदाको पिठो, कोदाको पिठो, दाम्ले मिठाइ लगायत म्याद गुज्रेका वस्तु भेटिएको अधिकारीले बताए । म्याद गुजे्रका सामान नष्ट गर्न पसल सञ्चालकलाई निर्देशन दिएको र ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन बोलाइएको उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

उक्त पसलबाट नम्किन, एंग्रिबर्ड चकलेट, किन्डर ज्वाय, डिङ्डङ केक र मालेपाटनको आदर्श स्टोर्सबाट म्याद नाघेका २ प्याकेट कर्न फ्लेक्स नष्ट गरिएको छ ।

नदीपुरको त्रिमुर्ति ट्रेडर्सलाई अनुगमन टोलीले मूल्य सूची देखिने गरी राख्न एक हप्ताको म्याद दिएको छ । नदीपुरकै पल्लवी स्टोर्सलाई मूल्य सूची राख्न, सरसफाई गर्न, ग्याँस बिक्रीको अनुमतिपत्र लिन निर्देशन दिएको छ । आर एन्ड सन्सलाई सरसफाइमा ध्यान दिन सुझाव दिएको छ ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत विष्णुप्रसाद आचार्य, खाद्य निरीक्षक अनिता पौडेल, उपभोक्ता मञ्च अध्यक्ष कोइराला, जिल्ला प्रसासन कार्यालय कास्कीका प्रतिनिधि रामेश्वर कोइराला, प्रहरी सहायक निरीक्षक रमेश कार्की सहभागी थिए ।

 

प्रतिक्रिया