पौडी खेल्न गएका २ किशोरको मृत्यु, एकजना वेपत्ता

पौडी खेल्न गएका २ किशोरको मृत्यु, एकजना वेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० साउन २०७३
  • 10.9K
    Shares

पोखरा—१८ खाल्टेमसिनाको ओखलढुंगा भन्ने ठाउँ नजिकै सेती नदीमा बिहीबार पौडी खेल्न गएका २ किशोरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् भने एकजनाको जीवितै उद्धार भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पर्वत घर भई सिर्जनाचोक पोखरा बस्ने १७ वर्षे शंकर जिसी र नदीपुर बस्ने १७ वर्षे अभिषेक बरुवाल मृत फेला परेका हुन् । पर्वत घर भई सिर्जना चोक बस्ने सुरेश मल्ल १८ वर्षे वेपत्ता छन् । रामबजार बस्ने १७ वर्षे राजीव मल्ल भने बच्न सफल भएको थिए ।

मृतक शंकर र अभिषेक पोखरा हाइअर सेकेन्डरी स्कुल बगरमा पढ्थे । वेपत्ता सुरेश जनप्रिय क्याम्पसका विद्यार्थी हुन् । उद्धार भएका मल्ल अमरसिंह उच्चमाविमा पढ्छन् । चारैजनाको घर पर्वत भएको र घरबाट स्कुल जाने भनी हिँडी सबै मिली पौडी खेल्न गएको प्रहरीले जनाएको छ । वेपत्ता सुरेशलाई प्रहरीले बिहीबार साँझ अबेरसम्म खोजी गरेको थियो ।

घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वेदप्रकाश जोशी नेतृत्व टिम पुगेको थियो ।

सेती नदीको सानो रहमा पौडी खेलिरहेका बेला एकजनालाई बगाएपछि उनलाई बचाउन अरु पनि पानीमा हाम फालेको बचेका किशोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

मृतकको शरीर पौडी रहभन्दा १ किलोमिटर तल भेटिएको थियो । बचेका किशोरले सबैभन्दा पहिला नदी किनारमा बालुवा चालिरहेका मजदुरसँग गुहार मागेका थिए । उनीहरुले लगत्तै प्रहरी डाकेका थिए ।

प्रतिक्रिया