भाद्र ७, २०७४- साफ यू-१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारत २-१ले विजयी हुँदै समूह ‘बी’को विजेता बन्यो ।
भारतले २७औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । कप्तान विक्रमप्रताप सिंहले गोलरक्षक विशाल सुनारको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरे ।
नेपालले ४१औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान रोशन राना मगरले प्रहार गरेको पेनाल्टी गोलरक्षक लाल्बिख्लुआ जोङ्तेले रोकेका थिए । उक्त रिबाउण्डमा रोशन आफैंले गोल गरे ।
दोस्रो हाफको ६५औं मिनेटमा भारतले पुन: अग्रता लियो । रवीबहादुर राणाले गिब्सन सिंहको फ्रिकिकमा हेडर गोल गरेका थिए।
यस नतिजासँगै नेपाल समूह ‘बी’को उपविजेता बन्यो । नेपाललाई समूह विजेता बन्न जित आवश्यक थियो।