काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु बाढी प्रभावित सप्तरीका गाउँमा पुगेर राहत वितरण गरेका छन्।
प्रकाश चन्द नेतृत्वमा गएको १६ जना विद्यार्थीको टोलीले राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।
चितवनका औषधि पसल, ब्यापारी र इच्छुक दाताहरुबाट संकलन गरेको राहत बाँड्नका लागि उनीहरु सप्तरीको रामपुरा नगरपालिकामा पुगेका हुन्।
‘हामीले रामपुरा नगरपालिकाका ८०० जनालाई उपचार गर्ने लक्ष्य लिएर यहाँ आइपुगेका छौं, आजैमात्र ३०० जनाको उपचार गर्यौँ’, चन्दले भने,‘यहाँका पीडितहरुमा जिउ दुख्ने, ब्लड प्रेसर लो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका छन्।’
चन्दले विस्तारै भाइरल ज्वरो र डायरियाको समस्या बाढी पीडितहरुमा देखिएको बताए। विद्यार्थीहरुले उक्त गाउँका पीडित मध्येपनि दलित र अपांगलाई विशेष प्राथमिकता दिएर आफुहरुले राहत वितरण गरेको बताएका छन्।
उनीहरुले बाढी प्रभावित सप्तरीका गाउँहरुमा अझै केहिदिन शिविर सञ्चालन गरिने जानकारी दिएका छन्।