राप्रपा नेपाल कास्कीका नेताको कुटपिटपछि रहस्यमय मृत्यु, सातदिनदेखि शव अस्पतालमै

राप्रपा नेपाल कास्कीका नेताको कुटपिटपछि रहस्यमय मृत्यु, सातदिनदेखि शव अस्पतालमै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ साउन २०७३
  • 21.9K
    Shares

राप्रपा नेपाल लेखनाथ नगरपालिका वडा नम्बर १० का अध्यक्ष खगराज पाण्डेको रहस्यमय मृत्युबारे यथार्थ विवरण सार्वजनिक गर्न उनका आफन्तले प्रहरीसँग माग गरेका छन् । गत असार ५ गते राती लेखनाथकै केही यूवाहरुको कुटपिटबाट गम्भीर घाईते भई उपचारपश्चात् आराम गरिरहेका पाण्डेको असार २९ गते बिहान घरनजिकै शव भेटिएको थियो । कुटपिट गर्ने समूहले नै पाण्डेको हत्या गरेको दावी गर्दै मृतकका आफन्तले जतिसक्दो छिटो घटनामा संलग्नलाई पक्राउ गर्न र सत्यतथ्य सार्वजनिक गरि कार्वाही अघि बढाउन माग गरेका हुन् ।
शव भेटिएकै दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपनि एक साता बितिसक्दा समेत अनुसन्धानका नाममा प्रहरीले केश अघि नबढाएको मृतकका भाई बोधराज पाण्डेले बताए ।
लामो समय बितिसक्दा पनि प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्दै आफूहरुलाई वेवास्ता गरिरहेको र हत्यामा संलग्नहरुलाई कार्वाही गर्न आनाकानी गरिरहेको मृतकका साला प्रकाश तिवारीले गुनासो गरे ।
“उपचारपछि निको भएर घरमा आराम गरिरहेको व्यक्तिको आफैं कसरी मृत्यु हुन सक्छ ?” उनले प्रश्न गरे– “तर प्रहरीले केश अघि बढाउन मानिरहेको छैन । अभियुक्तहरुले पनि हामीलाई केश फिर्ता लिन दवाव दिईरहेका छन् । भिनाजुको मृत्यु रहस्यमय छ ।”
उनका अनुसार घटनाको दिन बिहान घरमा आराम गरिरहेका पाण्डे पानी लगाउन भन्दै खेतमा गएका थिए । खेतमा गएको करिब डेढ, दुई घण्टासम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको थियो ।
शव भेटिएकै दिन असार ५ गते कुटपिटमा संलग्न बसौलासहित सन्तोष सुनार, जगदिश थापा, शम्शेर गुरुङ्ग, मनोज गुरुङ्ग, इश्वर गुरुङ्ग, अर्जुन गुरुङ्ग, रवि तिवारी र मिलन गुरुङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मृतकका आफन्तले जाहेरी दर्ता गराएका थिए ।
जाहेरी दर्ता गराएकै दिनदेखि प्रहरीले यो घटनालाई गम्भिररुपमा नलिएको र वेवास्ता गरेको उनीहरुको आरोप छ । प्रहरीकै आश्वासन मानेर अहिलेसम्म घटनाका बारेमा कुनैपनि सञ्चारमाध्यम र पाण्डे संलग्न पार्टीमा समेत जानकारी नदिएको तिवारीले बताए ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले भने प्रहरीले घटनाको गम्भिर तरिकाले अनुसन्धान गरिरहेका बताएका छन् । ‘प्रहरीको अनुसन्धानका विभिन्न पाटाहरु हुन्छन् ।’ उनले भने– ‘हामी अनुसन्धानकै क्रममा छौं । केही दिनभित्रै केश फाईनल हुन्छ ।’उनले पाण्डेको मृत्यु कुटपिटकै कारण भएको हो या अन्य कारणले हो भन्नेबारे गहनरुपमा आफूहरुले अनुसन्धान गरिरहेका दावी गरे ।

एकसातादेखि शव अस्पतालमै
यसैबीच, असार २९ गते मृत्यु भएका राप्रपा नेपालका नेता समेत रहेका पाण्डेको शव एकसाता बितिसक्दा पनि उठ्न सकेको छैन । पोष्टमार्टमका लागि शव भेटिएकै दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएका पाण्डेको शव अझै त्यहीँ छ । मृतकका आफन्तले पाण्डेको हत्या नै भएको र हत्यामा संलग्नलाई जतिसक्दो छिटो पक्राउ गरी कार्वाही अघि नबढाएसम्म शव नउठाउने अडान लिएका हुन् । प्रहरीले मृतकका आफन्तहरुसँग सहकार्य गरेर अनुसन्धानमा लाग्नुपर्र्ने र तत्काल हत्यामा संलग्नहरुलाई पक्राउ गर्न मृकका भाई बोधराजले आग्रह गरे ।

यस्तो छ घटनाक्रम
घटनाक्रम अनुसार असार ५ गते दिउँसो मृतक पाण्डेका छोरा र लेखनाथका स्थानीय बिष्णु बसौला लगायत यूवाहरुबीच सामान्य विवाद भएको थियो । दिनभर खेतको काम गरेर फर्किएका उनीहरु विवादकैबीच साँझ आ–आफ्नो घर फर्किए । खेतको कामबाट छुट्टीएका बसौला लगायतका अरु ८ जना यूवाले मदिरा सेवन गरी राती करिब ११ बजे पाण्डेको घर पुगे । कुटपिटको योजनाका मुख्य योजनाकार बसौलाले नै ‘एकछिन बाहिर निस्कनु’ भन्दै पाण्डेलाई घरबाहिर बोलाए । त्यसपछि एक्कासी रड र धारिलो हतियार प्रयोग गरी ५४ बर्षीय पाण्डेमाथी आक्रमण भयो । आक्रमणपछि भागेका सबै नौ जना यूवालाई नै प्रहरीले सोही रात पक्राउ ग¥यो भने टाउको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेका पाण्डेलाई पनि उपचारका लागि राती नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । उनको टाउको दश वटा टाँका लगाईएको थियो । पक्राउ परेका यूवाहरुको परिवारको आफन्तको दवावमा घटनाको पर्सिपल्टै घाईते अवस्थामा रहेको पाण्डेलाई थाहै नदिई बुहारी रमितालाई मात्रै बोलाएर प्रहरीको रोहवरमा मिलापत्र गरियो र अभियुक्त सबै प्रहरी हिरासतबाट छुटे । मिलापत्रमा पाण्डेको उपचार खर्चस्वरुप सुरुमा ५४ हजार रुपैयाँ दिने र बाँकी रकम अस्पतालको बिल अनुसार भुक्तानी गर्ने सहमती भयो । केही दिनको अस्पताल बसाईंपछि पाण्डे डिस्चार्ज भए र घर फर्किए । तर कुटपिट भएको २३ दिनपछि असार २९ गते खेतमा पानी लगाउन भनी हिँडेका उनको एक्कासी शव भेटियो ।

प्रतिक्रिया