दक्षिण चीन सागरको विषयमा संयुक्त राष्ट्रसंघीय अदालतको निर्णय आफूलाई अस्वीकार्य भएको चीनले बताएको छ। अदालतले दक्षिण चीन सागरमा चीनको अधिकार नभएको भन्दै मंगलबार चीनको विपक्षमा फैसला सुनाएको थियो।
चीनले हेगस्थित राष्ट्रसंघीय अदालतको फैसला बहुलठ्ठीपूर्ण भएको र यसबाट एसियामा अझै तनाव बढ्ने बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले मंगलबार यस्तो फैसला आएपछि अदालतले तमासा गरेको टिप्पणी गर्दै भने, ‘दक्षिण चीन सागरमा मध्यस्थता हुने विषयलाई फैसलाले विवाद र तनाव बढाएको छ।
फैसलाले यो समस्यालाई द्वन्द्वतर्फ धकेलिदिएको छ।’
चीनले अदालतको यो निर्णय कागजको टुक्रा मात्र सावित हुने चेतावनी दिएको छ।चीनका राष्ट्रपति सी जिनपिङले पनि यस्तो फैसला कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। उनले भने, ‘चीनले दक्षिण चीन सागरमा शान्ति र स्थायित्व कायम राख्न चाहन्छ। यस्तो विषयमा दिइएको अदालतको निर्णय हामी स्वीकार गर्दैनौं।’
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चीनले अन्तर्राष्ट्रय अदालतको निर्णय पालना गर्नेछैन। दक्षिण चीन सागरमा चीनले आफ्नो क्षेत्रीय सम्प्रभुता, समुद्री अधिकार र राष्ट्रिय हितका विषयमा सम्झौता नगर्ने उसको भनाइ छ।
अदालतले चीनको विपक्षमा र फिलिपिन्सको पक्षमा निर्णय सुनाएको छ। दक्षिण चीन सागरमा चीनले गर्दै आएको दाबीको विरोधमा फिलिपिन्सले उक्त अदालतमा मुद्दा हालेको थियो।