मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले क्रान्तिकारी माओवादीहरुबीच ध्रुवीकरण र एकतामा जोड दिने भएको छ । झण्डै एक हप्ता लामो बसेको केन्द्रीय समिति बैठकले विभिन्न समुहमा विभाजित क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुबीच एकता गर्ने नीतिमा जोड दिएको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका पार्टीहरुले मालेमावादलाई मान्नु पर्ने, नयाँ जनवादी क्रान्तिको कार्यभारलाई पूरा गर्न तयार हुने र बल प्रयोगको भूमिकालाई स्वीकार गर्न तयार हुने कम्युनिस्ट पार्टीहरुसित एकता र धु्रवीकरण हुने वैद्य माओवादीले जनाएको छ ।
अध्यक्ष किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशवर्षको जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यमाथि आवश्यक ध्यान दिंदै क) माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, ख) नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, ग) क्रान्तिमा बलप्रयोगको सिद्धान्तलाई मान्ने, घ) वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, ङ) वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रीपरिषद्मा नरहने र च) जनवादी–केन्द्रीयताको सिद्धान्तलाई सवीकार गर्ने सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक मान्यताका आधारमा पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आव्हान गर्ने निर्णय लिइएको छ ।’
यहि असार २५ देखि ३० गतेसम्म बसेको बैठकले यही असोजको चौथो सातामा आयोजना गरिएको राष्ट्रिय सम्मेलनको तयारीका लागि अध्यक्ष किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र तथा नेपाली समाजको स्वरुप तथा पार्टीको आम कार्यदिशा– शीर्षक रहेका दुई राजनीतिक प्रस्ताव तथा नेता राम सिंह श्रीसद्वारा प्रस्तुत पार्टी विधान सम्बन्धी प्रस्ताव प्रस्तुतको मूल प्रवृत्ति तथा स्प्रिटलाई स्वीकार पारित गरेको छ ।