नक्कली सुनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली एक किलो सुन देखाई दोलखामा १५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई पक्रेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप चार देखि पाँचजना फरार छन् । गत वैशाख २१ गते भीमेश्वर नगरपालिका –७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका– १ बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी अभियुक्ते १५ लाख रुपैयाँ ठगी गरेको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ । अभियुक्त सङ्गठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुविरुद्ध सङ्गठित ठगीको महल अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । रासस