नेकपा(एमाले) निकट युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला समिति सदस्य कविराज थापा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । गत चैत्र १ गते साँगाचोकबाट हराएकी १५ वर्षका चमेली, उषा र वर्षा (नाम परिवर्तन) लाई भक्तपुरको सूर्यविनायक नगरपालिका– १२ स्थित होटल हव नवमा लगेर बालिका बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । थापासहित ३ जनाले बालिकालाई जर्वजस्ती करणी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रवक्ता शेखर खनालका अनुसार २०७२ साल चैत्र १ गते राती ११ बजेको समयमा भक्तपुर सुर्यविनायक न.पा. १२ स्थित होटल हव नवमा तीन बालिकाहरुलाई सिन्धुपाल्चोकको साँगाचोक ७ बस्ने वर्ष २५ को कविराज थापा, सोहि ठाउँकै बर्ष २३ को अनिल भन्ने प्रविण कार्की र नाम थर एकिन नखुलेको अन्दाजी २१–२२ वर्षको आफूलाई मनोज नाम बताउने युवाले जर्वजस्ति करणी गरेको आरोपमा मुद्दा चलाईएको छ ।
बलात्कार अभियोग लागेका थापा र अनिल भन्ने प्रविण कार्कीलाई प्रहरीले भक्तपुरबाटै पक्राउ गरेको हो भने मनोज नाम बताउने ब्यक्तिको भने प्रहरीले खोजी गरिरहेको प्रवक्ता खनालले बताए । उनका अनुसार पक्राउ परेका थापा र कार्कीलाई म्याद थप गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा राखिएको छ ।
यसैबिच जर्वजस्ती करणी अभियोगमा पक्राउ परेका थापाका परिवारले बालिकाहरुको परिवारलाई घटना मिलाउनका लागि दवाव दिएको बताएका छन् । बालिकाहरुको पारिवारिक स्रोतका अनुसार थापाका दाजु शंकर थापा लगायतले मुद्धा फिर्ता लिएमा रु. १ लाख पैसा दिने, बालिकाको निज थापासँगै विवाह गरिदिने बताउँदै मिल्नका लागि दवाव दिएको बताईएको छ ।
पिडक थापा परिवारले राजनीतिक पहुँच देखाएर घटनालाई ढाकछोप गर्न समेत लागिपरिरहेको बताइएको छ ।