नेपाल–चीन सिमानाको कोरला नाका किनमेललाई १० दिन खुला गरेपछि चहलपहल बढेको छ । अघिपछि सुनसान हुने सिमा क्षेत्रमा दुवै देशका व्यापारी र सर्वसाधारण आउजाउले रौनक बढेको हो ।
यही असार १ देखि नाका खुलेपछि किनमेल गर्नेहरू बढेको भन्सारका कर्मचारीले बताए । गत वर्षको तुलनमा यसपालि राजस्व संकलन पनि बढेको उनीहरूले जनाए ।
किनमेलका लागि गत वर्षभन्दा बढी व्यापारी आएका छन् । यसपटक भन्सार कार्यालयले ५ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेको छ । गत वर्ष ३ लाख २७ हजार रुपैयाँ राजस्व उठेको थियो ।
यस सातामा ३ लाख ७५ हजार रुपैयाँ राजस्व उठिसकेको भन्सार प्रमुख शुक्रदर्शन ढुंगानाले बताए । ‘अझै नाका ४ दिन खुल्नेछ, व्यापारी आउने क्रम दिनप्रति दिन बढेको छ,’ उनले भने, ‘यसपालि उत्साहजनक रूपमा कारोबार भएको छ ।’ हाल फर्निचरजन्य सामग्री, कम्मल, भोटे चिया, फलामे चुलो र चाइनिज चाउचाउ अत्यधिक आयात भएको उनले जानकारी दिए । अन्य घरायसी सामान, खाद्यान्न, लत्ताकपडा र कृषिजन्य सामान पनि आयात भएको छ । गत वर्षझैं यसपालि पनि निर्यात शून्य रहेको भन्सार कार्यालयले जनाएको छ ।
नाका खुलेको थाहा पाएपछि मुस्ताङ घुम्न आउने पर्यटक कोरला पुग्न थालेका छन् । मोटरसाइकलमा कोरला घुम्न आउनेहरू बढेको स्थानीयको भनाइ छ । चीनतर्फका अधिकारीले रातो पोसाक लगाएका व्यक्ति नेपालतर्फबाट छिरेकाले सिमानामा सुरक्षा व्यवस्था कडाइ गर्न माग गरेका छन् ।
लामा पोसाक लगाएको देख्ने बित्तिकै चीनका सुरक्षाकर्मीले बढी सोधपुछ गर्दै आएका छन् । नेपालतर्फ सुरक्षा अवस्था मजबुत भएमा कोरला नाकाबाट दीर्घकालीन रूपमै आयात निर्यात गर्न सकिने व्यापारीहरू बताउँछन् ।