किसानले उचित बजार मूल्य पाएपछि व्यावसायिक केराखेतीमा आकर्षण बढे

किसानले उचित बजार मूल्य पाएपछि व्यावसायिक केराखेतीमा आकर्षण बढे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 12.5K
    Shares

किसानले उचित बजार मूल्य पाएपछि व्यावसायिक केराखेतीमा आकर्षण बढेको छ । राम्रो आम्दानी हुँदा कृषकको केराखेतीमा रुचि बढ्दै गएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । यो सिजनमा राम्रो मूल्य पाउँदा केरा किसान दंग छन् ।

किसानको केरा बगानबाटै बिक्री हुन थालेको छ । खेती गर्नेको संख्यासमेत बढेको छ । ‘यहाँका किसानले व्यावसायिक केराखेतीबाट रामै्र आम्दानी लिन सफल भएका छन्,’ उनले भने, ‘हिजोआज बगानबाटै केरा बिक्री हुने गरेकोले किसान खुसी छन् ।’ हाल दर्जनको ४८ देखि ५४ रुपैयाँसम्ममा बोटबाटै बिक्री हुने गरेको छ । गत वर्ष दर्जनको ३६ देखि ४५ रुपैयाँसम्म मूल्य थियो ।

यस सिजनमा झन्डै ४७ हजार टन केरा उत्पादन भएको छ । गत वर्ष ४२ हजार टन भएको थियो । यहाँ उत्पादन भएको केरा ५० प्रतिशत राजधानीमा खपत हुन्छ । बाँकी बुटवल, दाङ भैरहवा, पोखरालगायतका सहरमा बिक्री हुन्छ ।

रत्ननगर, कालिका र खैरहनी, जगतपुर, ठिमुरालगायतका स्थानमा केराखेती गरिएको छ । जिल्लालाई केराको पकेट क्षेत्रका रूपमा लिइन्छ । गत वर्ष ५ सय ९० किसानले केराखेती गरेका थिए । यो वर्ष बढेर ६ सय ३० पुगेका छन् । जिल्लामा पछिल्लो समय २ हजार ६ सय ५० हेक्टरमा केराखेती गरिएको अध्यक्ष पन्तले बताए ।

यहाँ सरकारी नीतिअनुसार उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालयको सहयोगमा ‘एक गाउँ, एक उत्पादन’ मार्फत केराखेती थालिएको हो । खेतीयोग्य जमिन प्लटिङ गरेर नमासिएको भए जिल्लामा केराखेती गर्नेको संख्या अझै बढ्ने केरा व्यवसायी लक्ष्मण सुवेदीले बताए । ‘एक वर्षमा १ अर्ब ५ करोड रुपैयाँसम्मको केरा बिक्री हुने गरेको छ,’ उनले भने, ‘हावाहुरी, रोग नलागेको अवस्थामा राम्रो आम्दानी हुन्छ ।’ सुवेदीले ५५ बिघामा केराखेती गरेका छन् ।

यहाँका किसानले ९० प्रतिशत स्थानीय माल्भोग केरा लगाएका छन् । बाँकीले विलियम हाइब्रिट जातको केरा लगाउँदै आएका छन् । केराखेतीका लागि ७० करोड रुपैयाँ बढी लगानी गरेको संघले जनायो ।

केराको थामबाट नेपाली कागज बनाउन सकिन्छ भने कोसाबाट मम, अचार, चिप्स बनाएर बिक्री गर्न सकिन्छ । ‘केरा लगाउन अन्य बाली मास्नु पर्दैन, खाली जग्गामा नै केराखेती गर्न सकिन्छ,’ सुवेदीले भने, ‘बेलाबेलामा रोगको प्रकोप नहुने हो भने केराले सिंगो नेपाली बजार धान्न सक्थ्यो ।’ चितवनमा झन्डै १० हेक्टरका दरले प्रत्येक वर्ष केराखेती विस्तार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार