अस्ट्रेलियन प्रहरीको टाउको दुखाई बनेका हमाल

अस्ट्रेलियन प्रहरीको टाउको दुखाई बनेका हमाल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असार २०७३
  • 14.5K
    Shares

लामो समयदेखि एक नेपाली नागरिक अस्ट्रेलियन प्रहरीको टाउको दुखाई बनेका छन् । पटक–पटक आपराधिक कृयाकलापमा संलग्न रहँदै आएका २७ वर्षीय अमित हमालका कारण प्रहरी आजित बनेको हो । बलात्कारको आरोपमा पक्राउ परेका हमाल पछिल्लो पटक डार्विन नजिकै रहेको एक डिटेन्सन सेन्टरबाट भागेपछि अस्ट्रेलियामा ठूलै खैलाबैला मच्चिएको थियो । डेलीमेलदेखिका अन्तर्राष्ट्रिय मिडियामा समेत यस समाचारले प्राथमिकता पाएको थियो । उनी भागेपछि स्थानीय अधिकारीको निकै आलोचनासमेत भएको थियो ।
२७ वर्षीय हमाल पुनः पक्राउ परेका छन् भने उनलाई १४ दिनको जेल सजाय सुनाइएको छ । विकिह्याम प्वाइन्ट डिटेन्सन सेन्टरमा बसिरहेका हमाल गत मे २ मा स्थानीय गोही पार्क घुमाउन लैजाने क्रममा फरार भएका थिए ।

सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका हमालमाथि सन् २०१० मा एक सुतिरहेकी ४४ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । सन् २०११ मा उनलाई यस मुद्दामा दोषी करार गर्दै ३ वर्ष जेल तथा १८ महिना नन–पेरोलको सजाय सुनाइएको थियो ।उनले त्यतिबेला आफूलाई नेपाली राजपरिवारको सदस्य बताएपछि ‘शाही बलात्कारी’ भनेर चर्चित बनेका थिए ।

हाल इमिग्रेसन डिटेन्सन सेन्टरमा रहेका उनले पार्कको पर्खाल नाघेर फरार भएका थिए । तर, त्यसको केही घण्टामा नै उनी पक्राउ परेका थिए ।यता, हमालका वकिलले भने उनको मानसिक स्थिति ठीक नभएको तर्क गरेकी छिन् । हमालले भने आफू ‘स्वतन्त्रताका लागि’ भागेको बताएका थिए ।

बलात्कारको मुद्दा प्रमाणित भएपछि उनको विद्यार्थी भिसा रद्द गरिएको थियो । उनले हाल शरणार्थीको भिसाका लागि अपिल गरेका छन् । अदालतको निर्णयपछि उनलाई केही दिन डार्विनको डिटेन्सन सेन्टरमा राखेर अर्को हप्ता पर्थ लगिने अस्ट्रेलियन मिडियाले जनाएको छ ।

प्रतिक्रिया