दाङ, २० असोज २०८३।
दाङको देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र ०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२-००१ ख ०१११ नम्बरको बस लमही नगरपालिका-३ मजगाउँमा आपसमा ठोक्किएर भएको भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ठोक्किएको थियो। दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।
घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।