चितवनमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवनमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०८३
  • 342
    Shares

चितवन,

चितवनमा जिप र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

कालिका नगरपालिका–५ को कार्यालय चोकमा मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट वनकट्टातर्फ जाँदै गरेको बाप्र।३–०१–०२४ च ३४७३ नम्बरको जिप एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो २ः३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा बोलेरोमा सवार अन्य नौ जना र चालक घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश कालिका नगरपालिका वडा नम्बर ३ का रहेका छन् ।

प्रहरीले ट्याक्टर, ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ । बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि घाइते भई उपचाररत छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया