काठमाडौं, १७ असोज २०८३।
रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको बाढीपछि बेपत्ता भएका एक मलेसियाली नागरिक ३७ दिनपछि सुरक्षित अवस्थामा आफ्नो देश फर्किएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीमा बेपत्ता मलेसियाली नागरिकका परिवारको प्रतिनिधित्व गर्ने संस्था मलेसिया सोलिडारिटी : फेमिलीज इन होप (मस्फिह) ले शुक्रबार ती नागरिक सुरक्षित रहेको र आफ्नो देश मलेशिया पुगेको जानकारी दिएको हो।
मस्फिहका प्रवक्ता मनिभान्नन रेथिनमका अनुसार ती चिनियाँ मूलका मलेसियाली नागरिकले काठमाडौंस्थित मलेसियाली दूतावासमा आफैं सम्पर्क गरेका थिए। उनी नेपालमा एक्लै यात्रा गरिरहेका मलेसियाली नागरिकमध्ये एक रहेको बताइएको छ।
प्रवक्ता रेथिनमका अनुसार ती नागरिकका नजिकका आफन्तसँग समेत सम्पर्क गरी उनी सुरक्षित रूपमा मलेसिया फर्किएको पुष्टि गरिएको हो।
उनका अनुसार ती व्यक्ति अगस्ट २५ अर्थात् ९ भदौमा दिउँसो ३ः२६ बजे नागथली भ्यूपोइन्टमा रहेको पाइएको थियो। बाढीका कारण उक्त क्षेत्रका सडक तथा पुलमा क्षति पुगेपछि उनी केही समय परिवार तथा आफन्तको सम्पर्कबाट बाहिरिएका थिए। विद्युत्, खानेपानी र इन्टरनेट सेवा अवरुद्ध हुँदा उनको आवागमन तथा सञ्चारमा थप समस्या भएको प्रवक्ता रेथिनमले बताएका छन्।
ती मलेसियाली नागरिक सुरक्षित भेटिएपछि नेपालमा बाढीपछि बेपत्ता रहेको भनिएका मलेसियाली नागरिकको संख्या ५५ बाट घटेर ५४ पुगेको मस्फिहले जनाएको छ।
मस्फिहका प्रवक्ताले यो संख्या घटेको विषय मात्र नभई ३७ दिनको अनिश्चिततापछि एक परिवार आफ्नो आफन्तसँग पुनः जोडिन सफल भएको महत्वपूर्ण घटना भएको बताएका छन्।