विराटनगरमा नेपालीको नाममा चिनियाँको व्यापार : चिनियाँ महिला पक्राउ

विराटनगरमा नेपालीको नाममा चिनियाँको व्यापार : चिनियाँ महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 494
    Shares

विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता रहेको फर्ममार्फत चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरिरहेको पाइएको छ। घटनामा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

विराटनगर–२ स्थित एभरपिक सप्लायर्समा गरिएको अनुगमनका क्रममा चिनियाँ नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिइएको हो। उनलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त पसल काठमाडौं महानगरपालिका–३२, जडीबुटीकी राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको पाइएको थियो। तर, व्यवसाय सञ्चालन भने चिनियाँ नागरिक लि जोसिज्याकले गर्दै आएको भेटिएको हो।

अनुगमन टोलीले पसल सञ्चालकलाई कस्मेटिक तथा घरायसी सामग्रीको सम्पूर्ण खरिद बिल उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, सामानको खरिद स्रोत, कारोबार तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित कागजातसमेत अध्ययन भइरहेको जनाइएको छ।

प्रहरीले नियन्त्रणमा लिएका लि जोसिज्याकलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी गरेको छ।

यसअघि पनि विराटनगरस्थित सेन्ट्रल मलमा सञ्चालित योनो मार्टमा चिनियाँ लगानी रहेको पाइएको थियो। त्यहाँ पनि व्यापार चिनियाँ नागरिकले सञ्चालन गरे पनि व्यवसाय भने नेपाली नागरिकको नाममा दर्ता रहेको पाइएको थियो।

प्रतिक्रिया