इरानले अमेरिकासमक्ष राख्यो, होर्मुज खोल्ने सातदिने योजना

इरानले अमेरिकासमक्ष राख्यो, होर्मुज खोल्ने सातदिने योजना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असोज २०८३
  • 418
    Shares

Reuters

न्यूयोर्क, २५ सेप्टेम्बर २०२६ ।

इरानले रणनीतिक महत्वको होर्मुज जलडमरू पुनः खोल्नका लागि अमेरिकासमक्ष सातदिने ठोस योजना प्रस्तुत गरेको जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराक्चीले अब उक्त योजना स्वीकार गर्ने वा नगर्ने निर्णय अमेरिकाको हातमा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अराक्चीले आवश्यक सर्तहरू पूरा भएमा होर्मुज जलडमरू पुनः खोल्न सकिने र सात दिनभित्र समुद्री आवागमनलाई सामान्य अवस्थामा फर्काउन सकिने बताए।

अराक्चीका अनुसार इरानले अमेरिकासमक्ष प्रस्तुत गरेको योजनामा होर्मुज जलडमरू पुनः सञ्चालनका लागि आवश्यक ठोस कदमहरू समेटिएका छन्। उनले योजनाको कार्यान्वयनका लागि आवश्यक निर्णय अमेरिकाले गर्नुपर्ने बताए।

“यदि आवश्यक सर्तहरू पूरा भएमा स्ट्रेट पुनः खोल्न सकिन्छ र सात दिनभित्र सामान्य समुद्री मार्ग पुनर्स्थापित गर्न सकिन्छ। अब छनोट अमेरिकासँग छ,” अराक्चीले भने।

उनका अनुसार अमेरिकाले पूरा गर्नुपर्ने विषयहरू नयाँ भने होइनन्। ती विषय यसअघि नै इरान र अमेरिकाबीच भएको समझदारीपत्र (एमओयू) मा समेटिएका छन्।

अराक्चीले गत जुनमा इरान र अमेरिकाबीच भएको समझदारीपत्रलाई उल्लेख गर्दै त्यसमा रहेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

इरानको प्रस्ताव कार्यान्वयन भएमा होर्मुज जलडमरूबाट हुने समुद्री आवागमन सात दिनभित्र सामान्य अवस्थामा फर्काउन सकिने इरानी विदेशमन्त्रीको भनाइ छ। अब प्रस्तावप्रति अमेरिकाले कस्तो निर्णय गर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

प्रतिक्रिया