रामेछाप , १० असोज २०८३।
चोरीका सुनचाँदीका गहना खरिद-बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थलीका दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मन्थली नगरपालिका–१ स्थित दिप लक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाइली र सोही स्थानमा रहेको सुविना सुनचाँदी पसलका सञ्चालक २८ वर्षीया निशा विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार पीडित अस्मिता श्रेष्ठ माझीको घरबाट सुनका गहना चोरी भएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा प्रहरीले मुख्य आरोपित मैया कार्कीलाई पक्राउ गरेको थियो। बयानका क्रममा कार्कीले चोरीका गहना मन्थली बजारका रसाइली र विश्वकर्माले सञ्चालन गरेको पसलमा बिक्री गरेको खुलाएकी थिइन्।
कार्कीको बयानका आधारमा खानतलासी गर्दा रसाइलीको पसलबाट पीडित माझीको कानबाट झिकिएको ४२ लाल २ प्वाइन्ट तौल भएको सुनको रिङ २ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै व्यवसायीलाई चोरीको माल खरिद-बिक्री कसुरमा अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ।
चोरीको सामान जानाजान खरिद गर्नु पनि कानुन बमोजिम कसुर हुने र यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।