पाल्पामा पहिरोले दुई घर पुरिए : ५९ वर्षीया महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर पुरिए : ५९ वर्षीया महिला बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 475
    Shares

पोखरा, ९ असोज २०८३।

पाल्पाको रिब्दीकोट गाउँपालिका-६ धुस्टुङको गोल्फानमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी छन्।

बिहीबारदेखिको अविरल वर्षाका कारण शुक्रबार दिउँसो पौने तीन बजेतिर खसेको पहिरोले दुईवटा घर पुरेको हो।

पहिरोमा पुरिएर स्थानीय ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

पहिरोले धुस्टुङ गोल्फान बस्ने केसुराम सारु मगर र रामबहादुर उचैको घर पूर्ण रूपमा पुरेको छ। दुवै घर ढुङ्गा-माटोले बनेका र जस्ताले छाएका तीनतले कच्ची घर हुन्। पहिरोले घरमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भएको छ। घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा, माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार गर्न नसकिएको प्रनाउ भट्टराईले बताए।

बेपत्ता महिलाको खोजी तथा उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया