काठमाडौं, ९ असोज २०८३।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नाममा डरत्रास देखाई व्यवसायीहरुसँग रकम असुल गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला बैतडी पाटन नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने ४० वर्षीय शम्भु प्रसाद जोशी रहेका छन्।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार ,
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को २०८३ साल भदौ १ र २ गते काठमाडौंमा अधिवेशन हुने भन्दै आर्थिक सहयोगको लागि काठमाडौंका विभिन्न व्यवसायीहरुलाई धम्कीपूर्ण फोन गरी चन्दा आतंक फैलाउँदै आएको भन्दै व्यवसायीहरुले प्रहरीमा लिखित निवेदन दिएका थिए। उक्त निवेदनको आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरी टोलीले जोशीलाई गत बुधबार काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।