पोखरा, ८ असोज २०८३ ।
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै आज ८ गते र भोलि ९ गते विद्यालय बन्द रहने जानकारी दिएका हुन्।
महानगरपालिकाका अनुसार उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।
महानगरपालिकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।
मेयर आचार्यले ‘सुरक्षा नै पहिलो प्राथमिकता’ भएकाले सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।