स्याङ्जामा दोहोरो नागरिकता र राहदानी लिने भाई र सनाखत गरिदिने दिदी धरौटीमा रिहा

स्याङ्जामा दोहोरो नागरिकता र राहदानी लिने भाई र सनाखत गरिदिने दिदी धरौटीमा रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 437
    Shares

syangja district court, syangja district court

स्याङ्जा, ६ असोज २०८३ ।

झुटो विवरण पेश गरी दोहोरो नेपाली नागरिकता तथा राहदानी लिएको आरोपमा पक्राउ परेका भाई र उनको नागरिकताको सनाखत गर्ने दिदी धरौटीमा रिहा भएका छन्।।

स्याङ्जाको गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपना थापा जिल्ला अदालत स्याङ्जाको आदेश वमोजिम धरौटी राखेर रिहा भएका हुन्। अदालतले मधु थापासँग दुईलाख २५ हजार रुपैयाँ र सपना थापासँग एकलाख २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

प्रहरीका अनुसार मधु थापाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६५ असार १९ गते नागरिकता नम्बर ४२२०२८/३२४३३ को नेपाली नागरिकता लिएका थिए। त्यसपछि उनले नक्कली एसएलसी शैक्षिक प्रमाणपत्रका आधारमा झुटो विवरण पेश गरी आफ्नो नाम कुशल थापा, बुबाको नाम नुनबहादुर थापा र जन्ममिति २०४८ असार १६ गते कायम गराएको आरोप छ।

उक्त विवरणका आधारमा उनले २०७२ साउन ४ गते नागरिकता नम्बर ४२२०२८/१०६२ को अर्को नेपाली नागरिकता लिएको र सोही कार्यालयबाट ०९३७२८२८ नम्बरको राहदानी समेत प्राप्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाएको छ।

दोहोरो नागरिकता तथा राहदानी लिएको विषयमा कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट प्राप्त पत्रका आधारमा प्रहरीले २०८२ असार १५ गते नागरिकता तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले मधु थापालाई भदौ ८ गते र दोहोरो नागरिकताको सनाखत गरेको आरोपमा उनकी दिदी सपना थापालाई भदौ ३१ गते पक्राउ गरेको थियो। अनुसन्धान पूरा गरी प्रहरीले दुवै जनालाई असोज ५ गते जिल्ला अदालत स्याङ्जामा पेस गरेको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार अदालतको आदेशबमोजिम दुवै जनाले तोकिएको धरौटी रकम बुझाएर रिहा भएका छन्।

प्रतिक्रिया