गोरखा, ५ असोज २०८३ ।
गोरखाको थालाजुङमा जिप दुर्घटना हुँदा ८१ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको बोलेरो जिप आइतबार बिहान करिब १०ः३० बजे सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा सडकको नालामा खसेर भित्तामा ठोक्किँदा ८१ वर्षीया वृद्ध महिलाको मृत्यु भएको हो भने आठ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा सिरानचोक गाउँपालिका–२ काँउले निवासी करिब ८१ वर्षीया लालमाया गुरुङ जिपमा च्यापिएर मृत्यु भएको स्थानीयले बताएका छन्।
सिरानचोक गाउँपालिका–७ सिम्ले निवासी विकास गुरुङले चलाएको उक्त जिपमा चालकसहित नौ जना सवार रहेको बताइएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा सिरानचोक गाउँपालिका–७ का करिब ६८ वर्षीय कमलबहादुर घिमिरे रहेका छन्। उनको हातखुट्टामा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ।
त्यस्तै, सोही स्थानकी ४८ वर्षीया सीता पाण्डेको बाहिरी चोट नदेखिए पनि छाती दुखेको र बोल्न सक्ने अवस्था रहेको जनाइएको छ। ४८ वर्षीय लोकबहादुर खड्काको पनि बाहिरी चोट नदेखिएको र बोल्न सक्ने अवस्था रहेको बताइएको छ।
सिरानचोक गाउँपालिका–७ का करिब ७३ वर्षीय कुलबहादुर सार्की, वडा नं. ६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ र वडा नं. ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली पनि घाइते भएका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको बताइएको छ।
रोजिना नेपालीकी २१ महिनाकी छोरी रेविका नेपालीको खुट्टामा चोट लागेको र उनको अवस्था पनि मध्यम रहेको जनाइएको छ।
घटनाबारे थप विवरण तथा दुर्घटनाको कारणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ।