रुपन्देही, ५ असोज २०८३ ।
नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल बेचबिखन गर्दै आएका एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका-२ बस्ने अन्दाजी ४४ वर्षीय अजय चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चौधरीले नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सिद्धार्थनगर नगरपालिका-७ विद्यापथबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट टाइप ५४ पेस्तोलजस्तो देखिने एकथान पेस्तोल र चार राउण्ड गोली लोड भएको अवस्थामा फेला परेको छ।
त्यस्तै, एउटै फोटो भएका दुईवटा नक्कली ब्लुबुक र चारवटा भारतीय आधार कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।
चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।