ड्युटीमा रहेका सशस्त्रका सई यादबलाई मार्न खोजेको आरोप लागेका भारतीयलाई प्रहरीले गोली हान्यो : घाइते अवस्थामा पक्राउ

ड्युटीमा रहेका सशस्त्रका सई यादबलाई मार्न खोजेको आरोप लागेका भारतीयलाई प्रहरीले गोली हान्यो : घाइते अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 722
    Shares

सिरहा, ४ असोज २०८३ ।

ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई टाटा सफारी गाडीले ठक्कर दिई ज्यान मार्ने प्रयास गरेको आरोपमा एक भारतीय नागरिक २२ महिनापछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरी रहेका छन्। उनलाई सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८१ माघ १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–२ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फ टाटा सफारी गाडीमा ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो।

सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त गाडी रोकेर जाँच गर्न खोज्दा गाडीमा सवार व्यक्तिहरूले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिएको प्रहरीको भनाइ छ। घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार भएका थिए।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न फरार प्रतिवादीमध्ये मंसुरी टाटा सफारीका धनी तथा चालकसमेत हुन्। उनको खोजी भइरहेको थियो।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार २०८३ भदौ ३ गते साँझ करिब ७ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिक मंसुरीसहित तीन जनालाई नियन्त्रणमा लिन खोजिएको थियो।

प्रहरीको दाबीअनुसार नियन्त्रणमा लिन खोज्दा मंसुरीसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड गोली चलाएका थिए। त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको जनाएको छ।

प्रहरीको गोली लागेर मंसुरीको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ। घाइते अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरेको छ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा २०८१ माघमा भएको प्रहरीमाथिको आक्रमणसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया