पोखरा, ४ असोज २०८३ ।
पोखराबाट ठूलो परिमाणमा अबैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–५ मा गएको शुक्रबार राती साढे आठ बजे सवारी चेकजाँचका क्रममा बा.प्र.०१–०३५ च १४३६ नम्बरको ईभी गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा अबैध लागूऔषधसहित ६ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , लागूऔषधसहित पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–६ का ३३ वर्षीय सुरज नेपाली, २८ वर्षीय प्रेम सुवेदी र ३५ वर्षीय होमबहादुर थापा रहेका छन्।
त्यस्तै, रुपन्देहीको मायादेवी गाउँपालिका–१ का २८ वर्षीय महेन्द्र आराख र ४१ वर्षीय जन्मेजय केवट तथा कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटाका ३३ वर्षीय राजेन्द्र कुमार यादव पनि पक्राउ परेका छन्।
उक्त गाडीबाट डाइजापाम चार सय एम्पुल, फेनेरागन ६ सय १३ एम्पुल र नुरफिन ६ सय एम्पुल गरी जम्मा एकहजार ६ सय १३ एम्पुल लागूऔषध बरामद भएको छ। यस्तै, टापेन्टाडोल नौसय ९८ चक्कीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद लागूऔषधको स्रोत, ओसारपसारको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।