बाराको होटलमा साथीको हत्या गरेर भागेका मुख्य आरोपी धानखेतमा लुकिरहेको अवस्थामा पक्राउ

बाराको होटलमा साथीको हत्या गरेर भागेका मुख्य आरोपी धानखेतमा लुकिरहेको अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 665
    Shares

पोखरा, ४ असोज २०८३ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२, सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका एक युवा धानखेतमा लुकेर बसिरहेको अवस्थामा पक्राउ परेका छन्ग।

सिमरा मेनरोडमा रहेको सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार गरी हत्या गरेर भागेका उनकै साथि जीतपुरसिमरा-२ पाँचधुरे टोलका २५ वर्षीय आयुष राईलाई घटनास्थल नजिकको धानखेतमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन्।

साथीलाई चक्कु प्रहार गरी भागेका राईलाई शनिबार राति जीतपुरसिमरा-१६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। उनको साथमा होटलकी सञ्चालिकासहित अन्य तीन जना पनि पक्राउ परेका तर उनीहरुको परिचय सार्वजनिक नगरिएको समाचार स्रोतहरुले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजेतिर जीतपुरसिमरा-२ स्थित सिमरा मेनरोडमा रहेको सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो। शनिबार दिउँसो खाजा खान आएका समूहबीच विवाद भएपछि सोही होटेलको भान्सामा रहेको मासु काट्ने चक्कुले खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार खाजा खान बसेका खड्कासँग बाहिरबाट आएका राईले विवाद गरी हत्या गरेका हुन्।

घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव हाल वीरगञ्जस्थित बयोधा मेडिसिटी हस्पिटलमा राखिएको छ। घटनाबारे बारा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया